जेठ ८, काठमाण्डौ । कांग्रेस माओवादीको गठबन्धन पराजित गर्दै अर्जुनधारा नगरपालिकामा एमालेका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन् । घोषित मत परिणामअनुसार मेयरमा एमाले बलदेव गोम्देन गठबन्धनबाट कांग्रेस उम्मेदवार रञ्जिता कार्कीलाई ५४२६ मत अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार गोम्देनले १९१६९ मत प्राप्त गरिरहँदा काङ्ग्रेस उमेद्वार कार्कीले १३७४३ मतमा रोकिएका छन् । उपमेयरमा पनि एमालेकै खड्गमाया पराजुली निर्वाचित भएकी छन् । पाँच दलीय गठबन्धनबाट उमेद्वार भएका नेकपा माओवादी केन्द्रका जितेन योञ्जनलाई झण्डै दोब्बर मतले पराजित गर्दै पराजुली उपमेयर भएकी हुन् । एमाले उम्मेदवार पराजुलीले १७६३७ मत प्राप्त गरिरहँदा योञ्जनको पक्षमा ९०७१ मत खसेको छ ।