त्रियुगा नगरपालिकामा पुनः मतदान नहुने, मतगणना गरिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ १०, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १०, काठमाडौँ । निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु गर्ने निर्णय गरेको छ । बैशाख ३० गते मतदान सकिनै लाग्दा अचानक आएको हावाहुरी र बर्षाका कारण त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभूत विद्यालयको मतदान प्रभावित भएको थियो ।

बर्षाका कारण केही मतदाताले मतदान गर्न नपाएको भन्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले त्यहाँ पुनः मतदान गर्नुपर्ने माग अघि सारेको थियो ।

नेपाली कांग्रेस र नेकपा एमालेले भने खसेको मतको गणना हुनुपर्ने माग राख्दै आएका थिए । उक्त विषय विवादित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले स्थलगत रुपमै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र स्थानीय प्रशासनसँग विवाद भएको विषयमा राय बुझेका थिए ।

आयुक्त भण्डारीले सबै पक्षसँगको रायका आधारमा मतगणना सुरु गर्न आयोगका तर्फबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटलाई निर्देशन दिएको जनाइएको छ । उदयपुरका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आयोगले मतगणना गर्न निर्देशन दिएका कारण गणनाको तयारी सुरु गरिएको बताए ।

‘अहिले गणनास्थल तयारीको काम अघि बढाएका छौं, दलहरूलाई बोलाउन काम पनि गर्दैछौँ’ मुख्य निर्वाचन अधिकृत सिलवालले भने, ‘अब केहीबेरमै दलहरूका तर्फबाट गणनामा खटिने एजेन्ट र गणना कर्मचारीहरूलाई ओरिन्टेशन दिएर अपराह्न २ बजेसम्ममा गणना सुरु गर्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस