जेठ १०, वीरगन्ज । बाराको पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । मंगलबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरपालिकाको प्रमुख एमालेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नगरपालिकाका निवर्तमान प्रमुख जनता समाजवादी पार्टीका रमेशकुमार यादवले ४ हजार ४६१ मत प्राप्त गरे ।
उप प्रमुखमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत ल्याएर निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीकी सगुफा खातुनले ४ हजार १६३ मत ल्याइन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा यस नगरपालिकाको प्रमुख र उपप्रमुखमा जसपा विजयी भएको थियो ।