जेठ १७,काठमाडौँ । स्थानीय तह निर्वाचनको परिणाम आएलगत्तै गाउँ कार्यपालिकाको निर्वाचनको सरगर्मी बढ्दा धादिङको थाक्रेमा भोट किनबेचको अडियो सार्वजनिक भएको छ । थाक्रे गाउँ कार्यपालिकाको निर्वाचनका लागि एमाले नेतृले भोट किन्न बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको हो ।
जेठ २१ गते थाक्रे गाउँ कार्यपालिकाको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन परिणाम अनुसार गाउँ कार्यपालिकामा सत्तारुढ गठबन्धन एक भोटले बहुमतमा छ । हाल ५७ सदस्यीय रहेको गाउँपालिकामा सत्तारुढ गठबन्धनसँग २९ सदस्य छन् भने नेकपा एमालेसँग २८ सदस्य छन् । बाँकी २ जना सदस्य अल्पसङ्ख्यक, दलित र पिछडावर्गबाट खुल्ला सदस्यका रूपमा आउनेछन् र गाउँकार्यपालिकाको गठन हुन्छ । गठबन्धनका एक सदस्यले मात्रै भोट क्रस गरे पनि एमाले कार्यपालिकामा विजयी हुनसक्छ । थाक्रेमा १९ सदस्यीय गाउँ कार्यपालिका रहने व्यवस्था छ । गाउँपालिकामा निर्वाचन अध्यक्ष, उपाध्यक्ष र ११ वडाका अध्यक्षहरू स्वतः गाउँ कार्यपालिकाको सदस्य हुन्छन् भने महिला सदस्य मध्येबाट ४ जना गाउँ कार्यपालिकामा निर्वाचित हुन्छन् । खुल्ला तर्फबाट अल्पसङ्ख्यक, दलित र पिछडा वर्गबाट कार्यपालिका सदस्यमा निर्वाचित हुन्छन् ।
हाल थाक्रेको गाउँपालिका अध्यक्षमा एमालेबाट रामुकुमार आचार्य विजयी छन् भने उपमेयरमा माओवादी केन्द्रको तर्फबाट यन्त्रबहादुर थापा विजयी भएका थिए । त्यसैगरी ५ जना वडाध्यक्ष एमालेबाट र ६ जना वडाध्यक्ष गठबन्धनबाट विजयी भएका छन् । हाल १३ जना कार्यपालिका सदस्य रहेकामा थप ६ जना कार्यपालिका सदस्यका लागि निर्वाचन हुनेछ ।
थाक्रेको गाउँ कार्यपालिकामा बहुमत पुर्याउनका लागि एमालेकी जिल्ला नेतृले माओवादी केन्द्रबाट विजयी भएकी वडा सदस्यलाई क्रस भोट गर्न बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । अनलाइन केन्द्रलाई प्राप्त अडियोमा अखिल नेपाल महिला संघ धादिङकी जिल्ला कमिटी सदस्य तथा रिम्स नेपालकी कर्मचारी शान्ता हमालले थाक्रे गाउँपालिका वडा नम्बर ४ की महिला सदस्य चिनुमाया मगरलाई क्रस भोट गरे खर्च दिने प्रलोभन दिएकी छिन् । शान्ताले चुनावमा खर्च भएको सबै रकम बेहोरिदिने तर एमालेलाई भोट दिनुपर्ने प्रस्ताव गरेकी छिन् ।
थाक्रे गाउँपालिका ४ की वडा सदस्य चिनुमाया मगरका अनुसार हमालले ९८०१२३२२४० नम्बरबाट सोमबार बिहान करिब १० बजेतिर फोन गरेर एमालेका लागि भोट हाल्न आग्रह गरेकी थिइन् । एमालेलाई भोट हालेर कार्यापालिकामा जिताएमा चुनावमा भएको सबै खर्च दिने उनले बताएकी छिन् । जवाफमा महिला सदस्य चिनुमाया तामाङले आफूले चुनाव जितेपछि खुसी भएर खसी र राँगो काटेर खुवाएको र सबै खर्च जोड्दा १० लाख पुगेको भनिदिएको मगरले बताइन् । त्यसपछि पछि कुरा गर्छु भनेर उनले फोन राखिदिएको बताइन् ।
अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।