रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु

जेठ २२, बुटवल । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिला रहेको रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले जानकारी दिए ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भएको बताए ।

बस दुर्घटनामा मृत्यु हुनेमध्ये ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरूमा तिलोत्तमा नगरपालिका–२ योगीबुटी घर भएका ५६ वर्षीय विष्णु पौडेल, रौतहट चपुर बस्ने वर्ष २० का दिनेश दास, बुटवल उप–महानगर वडा नम्बर–११ घर भएका कृष्ण प्रसाद बस्याल र रुपन्देहीको ओमसदिया बस्ने ६५ वर्षीय राजेन्द्र पाण्डे छन् ।

भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी पुलबाट यस अघि पनि पटक–पटक गाडीहरु खोलामा खस्ने गरेको छ । बिहानको समयमा चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

संम्बन्धित समचार

Leave a Reply