अछाम घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ जेष्ठ २२, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौँ । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेको डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले जानकारी दिए ।

उनकाअनुसार शनिबार साँझ अछामतर्फ गएको सीआईबीको टोली घटनास्थल पुगेर आइतबारबाट काम थाल्नेछ । उक्त टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) का सदस्यहरु समेत छन् ।

प्रमुख जिल्ला अधिकारी मरासिनीले अनुसन्धानका लागि सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटीबाट समेत प्रहरी टोली परिचालन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए । उनी मृत भेटिएपछि प्रशासनविरुद्ध स्थानीय प्रर्दशनमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा उक्त कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । शाही नेकपा एमाले समर्थक परिवारको सदस्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस