जेठ २८,काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पा सात सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले एक सय २२ मत ल्याए ।
सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे चार सय २८ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले चार सय २३ मत ल्याए । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल चार सय ८९ मतका साथ विजयी भए । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले तीन सय २३ मत प्राप्त गरे । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भए ।
यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भए ।
नयाँ नेतृत्व चयनका लागि शुक्रवार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका एक हजार दुई सय १५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि चुनाव भएको सङ्घले जनाएको छ ।