नागरिकताबिहिनलाई नागरिकता दिन प्रधानमन्त्रीलाई सांसद यादवको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ जेष्ठ २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

-दिपु बर्णवाल

जेठ २९, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साताभित्रै नागरिक सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य (सांसद्) प्रदीप यादवले आइतवार प्रधानमन्त्री देउवालाई भेटेर नागरिकताको समस्या सम्बन्धमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सांसद् यादवको नेतृत्वमा जसपाकै सांसदद्वय नरमाया ढकाल र रानी मण्डलको टोलीले प्रधानमन्त्री देउवासँग भेटघाट गरेर जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको समस्या बारे बताएपछि उनले यसै साताभित्र उनीहरुको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीलाई भेटेर समस्या बारे जानकारी गराएका यादवले जन्मसिद्ध नागरिकका सन्तानले भोगिरहेको नागरिकताको विषयमा सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका छन् ।

नागरिकताकै कारण सयौँ नागरिक रोजगार, उच्च शिक्षाबाट बञ्चित हुनुका साथै सरकारको सेवा सुविधासमेत उपभोग गर्न नपाएको यादवको भनाई छ । ‘नागरिकता नहुँदा आज लाखौँ युवाहरु विचल्लीमा छन् । शिक्षा, स्वास्थ्य, रोजगार र राज्यले एउटा साधारण नागरिकालाई दिने आधारभूत सेवा सुविधाबाट समेत उनीहरु बञ्चित हुँदै आएका छन्,’ सांसद् यादवले भने, ‘वर्षौंदेखि नागरिकता नपाएको कारण कयौं युवाहरु आत्महत्या गर्ने अवस्थामा पुगेका छन् । उनीहरुको भविष्यसँग खेलवाड गर्नु हुँदैन । यथासिघ्र नागरिका दिनुपर्छ ।’

नागरिकताविहिनहरुले आफुलाई पटकपटक दुखेसो पोखेपछि आज आफूहरुले प्रधानमन्त्रीलाई स्वयम् भेटेर समस्या बारे जानकारी गराएपछि सकारात्मक जवाफ आएको यादवले भने, ‘अहिले चलिरहेको बजेट सत्रबाट नै नागरिकताको विषयलाई समाधान गर्ने प्रधानमन्त्रीज्यूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसै साताभित्र सदनबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलब्ध गराउने निर्णय हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस