सडक व्यवस्थापनको अव्यवस्था: चुनौती होइन, काम गर्नेका लागि अवसर हो 

डा.सुरेश आचार्य

काठमाडौँको सहरमा गाडी चलाउन सक्ने जो कुनै ड्राइभरले विश्वको कुनै कुनामा गएर पनि गाडी चलाउन सक्छ । अत्यन्त अव्यवस्थाका बीचमा नेपाली चालकले गाडी चलाउँछन् र चालकले आफूलाई सुरक्षित राख्न सक्नु भनेको नेपालीको अर्को बहादुरी हो । विदेशमा गाडी चलाउने कुनै चालकले नेपालमा हतपत्त गाडी चलाउने कल्पना गर्दैन ।

नेपालमा कानुनको अभावमा यो सबै भइराखेको होइन । कानुनको पालना न राज्यले गराउन पहल गरेको छ, न कानुनको पालना गर्नुलाई नेपाली चालकले आफ्नो इज्जत र सम्मान ठानेका छन् । न सडक लेनको पालना छ, न त सडक लेनमा गाडी चलाउनु पर्छ भन्ने चेतनाले काम गरेको छ । कानुनकै छिद्रमा नेपालका ट्राफिक प्रहरीले आफ्नो शान सौकतको जीवन जिउने अवसर पनि पाएको छ ।

काठमाडौँ महानगरको नगरप्रमुख हुनुअघि नै बालेन शाहबाट काठमाडौँको ट्राफिक व्यवस्थापन गर्ने प्रतिबद्धता आएको हो । विकृृति र विसङ्गतिका चाङमाथि उभिएर सङ्गतपूर्ण काम गर्नुका चुनौती के हुन् ? यतिबेला नगरप्रमुख शाहलाई राम्रो अनुभूत भइरहेको हुनुपर्छ । अरू समस्याका अगाडि ट्राफिक व्यवस्थापन नगरप्रमुखको प्राथमिकतामा पर्न नसकेको पनि हुनसक्छ । काठमाडौँलाई मर्यादित र व्यवस्थित सहर देखाउने हो भने फोहोरलाई सडकमा फाल्ने प्रवृत्ति बन्द गर्ने सँगै ट्राफिक व्यवस्थापनलाई लोकलाजबाट बचाउन पनि जरुरी छ ।

सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ ले नेपालमा सडक र यातायातका साधनको व्यवस्थापनको कानुनलाई स्पष्टता गरेको छ । यो कानुनले गाडी चलाउन पाउने र नियमसङ्गत चलाउनुपर्ने कुरालाई व्यवस्थित गर्न पर्याप्त आधार दिएको छ तर नेपालमा कानुनलाई सहजीकरण गर्ने साधनका रूपमा भन्दा नियन्त्रण गर्ने हतियारका रूपमा प्रयोग गरिन्छ र यो कानुन पनि यसको अपवाद छैन । ऐनको दफा १६४ ले यातायात निरीक्षक वा सडकमा उभिएको सहायक निरीक्षक पदसम्मको ट्राफिक प्रहरीले ठाउँका ठाउँका पाँच सयदेखि पन्ध्र सय रुपियाँसम्म जरिवाना गर्न सक्ने अधिकार दिएको छ र यो अधिकार प्रयोग गर्न सक्ने २० वटा बुँदा कानुनमा नै उल्लेख छन् । यी अधिकारको प्रहरीले प्रयोग वा दुरुपयोग के गर्छन् रु हरेक नेपाली चालक यसका भुक्तभोगी छन् ।

यो ऐन नेपालका हरेक सडकमा समान रूपमा लागू हुन्छ । हरेक प्रहरीले कानुनअनुसार गाडीलाई व्यवस्थापन गर्नु उसको दायित्व हो तर यो कानुन नेपालभर होइन, काठमाडाँैका हरेक सडकपिच्छे फरक ढङ्गमा लागू हुन्छन्, भएका छन् । ललितपुरबाट काठमाडौँ आउने चालकले थापाथली चोकमा हरियो सङ्केत पाएका बेला थोरै पनि ‘लेन क्रस’ गरेर अगाडि बढेको कारण दण्डित गरिन्छ तर त्यसको दुई किलोमिटरको दुरीमा नयाँ बानेश्वर चोकमा पुरानो बानेश्वर जाने सङ्केत पाएका गाडीले पूरै अर्को लेन मिचेर जाने अनुमति पाउँछन् । पुरानो बानेश्वरतिरबाट आउने गाडीको चालकले ज्यान जोगाएर मीनभवनतिर जानु पर्छ ।

ट्राफिक प्रहरी र महानगरबीचको कस्तो कानुनी सम्बन्ध छ, थाहा छैन, जसले यो अव्यवस्थापनलाई व्यवस्थित गर्न सहयोग गर्न सकोस् तर ट्राफिक प्रहरीको हाकिम करोडौँका थैली बुझाएपछि मात्र हुन सम्भव छ भन्ने आमनागरिकको बुझाइ छ । यो आज मात्र सुनिने घटना होइन । त्यसैले नियमलाई आफू अनुकूल बनाउनु र सनकका भरमा चालकलाई दुःख र हैरानी दिनु ट्राफिक प्रहरीको पनि बाध्यता हो । ४० वा ६० किलोमिटरको गतिमा मात्र गाडी चलाउन राजमार्ग बनाइराख्नु पर्दैन ।

दुई लेनको सडकमा यात्रुका लागि हिँड्ने पेटी व्यवस्थित गर्ने हो भने यतिको गतिमा गाडी चल्न सम्भव छ । राजमार्ग भनेकै फराकिलो र तीव्र गतिमा गाडी कुद्ने सडक होला । नेपालका ट्राफिक प्रहरीलाई भने राजमार्गमा गाडीले गति लिएको चित्त बुझ्दैन । काठमाडौँ उपत्यकामा सवारीको यति धेरै चाप छ कि कुनै सडकमा चाहेर पनि ४० को गतिमा गाडी चलाउन कि चुनावका दिन हुनुपर्ने रैछ कि त कोभिडको आतङ्कले बन्दाबन्दीको बेला ।

काठमाडौँ चक्रपथलाई फराकिलो बनाएपछि यो सम्भावना रहन्थ्यो, तर त्यहाँ यति धेरै क्रसिङ छन् कि सायदै कुनै ठाउँमा ६० देखि ८० को गतिमा गाडी कुदाउन सकियोस् । अर्कातिर सडकमा जथाभावी क्रस गर्ने मानिसहरूको यति धेरै बिगबिगी हुन्छ कि यसमा धेरै ख्याल गर्नुपर्छ । देख्दा पढेलेखेका, जानेबुझेका तर व्यवहारमा चेतना र विवेक देखिँदैन ।

यस्तो अवस्थामा ट्राफिक प्रहरीले पछिल्लो समय अरनिको राजमार्गको गठ्ठाघर–कौशलटार खण्ड आम्दानीको राम्रो स्रोत हुने ठाउँ भनेर पहिल्याएको छ । गठ्ठाघर चोकको पहिलो दुई सय मिटर बस स्टपको अगाडि पछाडि सार्वजनिक गाडीको पेलाइका कारण साना गाडी चालकले आफैँ जोगिएर चलाउन पर्छ ।

बाँकी दुई अढाई सय मिटरमा गाडी हुईंक्याउनेले ९० सम्मको गति लिन सक्छ । यो ठाउँमा सौभाग्यवश तीव्र गतिका कारण दुर्घटना भएका छैनन् । बरु गठ्ठाघर पट्टिकै रेलिङलाई गाडीले पटक पटक हुत्याई दिएका छन् तर ट्राफिक प्रहरीले अन्यत्र प्रयोग हुन नसकेको वा सम्भवतः प्रयोगमा आउन बाँकी नै रहेको गाडीको गति मापन गर्ने क्यामरा फेला पारेको छ, ऊ हिजोआज छेउकुना बसेर चालकहरूलाई दण्डित गरिरहेको पाइन्छ ।

थापाथली वा कौशलटारमा ट्राफिक प्रहरीले गरेको काम कारबाही गलत होइन तर काम नियत गलत हो । सबै सडकमा यही ढङ्गमा नियम पालना गराउन कुनै कानुनले बाधा पु(याउँदैन तर जरिवाना गर्न मात्र ट्राफिक प्रहरी सडकमा उभिने हो रु अरू व्यवस्थापनका दायित्व उसमा रहँदैन रु कौशलटारको त्यही सडकमा ५० किलोमिटरसम्मको गति निर्धारण गरिएको छ तर दाहिने लेनमा भारयुक्त ठूला गाडी ३० को गतिमा घ्यारघ्यार गर्दा गलत ढङ्गमा ओभरटेक गर्न हरेक चालक बाध्य छन् । जरिवानाको चिट बोकेर बसेको प्रहरी सामान्य लेन अनुशासन कायम गर्न अनिच्छुक छ । एकतर्फी दुई लेनको बाटोमा चार लाइन गाडी खडा हुँदा त्यसलाई व्यवस्थापन गर्ने दायित्वका प्रति ऊ सचेत छैन ।

कुनै पनि बस स्टपमा कुनै पनि सार्वजनिक गाडी ठीक ढङ्गमा लाइन लागेर बस्दैनन् । बस स्टपको अगाडि भागसम्म कुनै गाडी पुग्दैनन् । बस स्टप नपुग्दै बाटो छेकेर गाडी रोकिएको ट्राफिक प्रहरीले टुलुटुलु हेरिरहेको हुन्छ । एउटाले अर्कोलाई ओभर टेक गर्न नदिन मुख अगाडि तेस्र्याएर सडक छेकेको हुन्छ ।

त्यो गाडी कतिबेला चल्ने हो, थाहा हँुदैन । साना गाडीले जोखिम मोलेर अगाडि बढ्नुपर्ने हुन्छ । जहाँ पायो त्यही उकाल्ने र ओराल्ने चालकको दुष्प्रवृत्तिलाई नियन्त्रण गर्नेतर्फ ध्यान छैन । जहाँ पनि हात ठड्याएर गाडी रोक्ने यात्रुको प्रवृत्तिको त कुरै नगरौँ । ऊ चेतनशील हो भनेर मान्ने अवस्था नै छैन । सडक व्यवस्थापनका नाममा हाकिम फेरिनासाथ सुरु सुरुमा देखापर्ने सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले चालेका हरेक पटकका कदम असफल भएका छन् । असफलताका लागि उसले कहिल्यै दण्डित हुनु परेको छैन ।

सडक यातायातसँग जोडिएका धेरै विषय छन् । काठमाडौँको पार्किङ समस्या लेखेर सकिने विषय नै होइन । मेयर बालेन शाहलाई पार्किङ व्यवस्थापन गरिदिएँ भने अरू त सबै ट्राफिक प्रहरीले मिलाइ हाल्छ नि भन्ने लागेको भए, यो पहिलो भ्रम हो । कानुनी व्यवस्था र नैतिक साहसको अपेक्षा आम काठमाडौँवासीले नगरप्रमुखसंग गरेका छन् भने यो चुनौती होइन, काम गर्नेका लागि अवसर हो ।

गोरखापत्रबाट

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?