यसकारण इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा !

असार ९,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एसियाका चार देशबीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्नुपरेको बताएका छन् ।

संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज बुधवारको बैठकमा बोल्दै सचिव सिग्देलले भुटान, बङ्गलादेश, भारत र नेपालका बीचमा भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा प्रयोग गर्नुपरेको बताएका हुन्। उनले दक्षिण एसियामा ‘सिमलेस ट्रान्सपोर्ट’ गर्ने सम्झौता भएको र त्यसो गर्दा अङ्ग्रेजी भाषाका अङ्कहरू सबै देशका संयन्त्रले पढ्न सक्ने हुनाले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिएको बताए ।

उनले भने, ‘नेपालसहित दक्षिण एसियाका चार देशबीच बीबीआईएन सम्झौता भएको छ । त्यो सम्झौताले हाम्रो नेपाली प्लेटमा पनि अङ्ग्रेजी अङ्क हुँदा सबै देशमा सहजै पढ्न सक्ने र त्यहाँको संयन्त्रले पनि पढ्न सक्छन् । नेपाली भाषा रिड गर्ने सजिलै सफ्टवेयरहरू उपलब्ध नहुनेको कारण पनि हो ।’

उनले इम्बोस्ड नम्बर प्लेट बनाउन २०७३ सालमा सम्झौता गरिएको र सम्झौता गर्दा सम्बन्धित कम्पनी कालोसूचीमा नपरेको बताए । सम्झौतापछि कालोसूचीमै परे पनि तत्काल ठेक्का सम्झौता रद्द नहुने कानुनी व्यवस्था रहेको उनले उल्लेख गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट बनाउनका लागि सरकारको पैसा खर्च नहुने बताए । उनले सम्झौताअनुसार २५ लाख गाडीमा प्रति गाडी दुई हजार पाँच सयदेखि तीन हजार हजार ६ सय रुपैयाँसम्ममा इम्बोस्ड नम्बर प्लेट बनाइने बताए । त्यसबापत झन्डै सात अर्ब ३९ करोड रुपैयाँ पैसा उठे पनि कम्पनीले झन्डै चार अर्ब ६८ करोड रुपैयाँ लिने र झन्डै दुई अर्ब ४० करोड रुपैयाँ सरकारको राजस्वमा जाने उनले जानकारी दिए ।

महानिर्देशक घिमिरेले विश्वमा ९५ प्रतिशत देशमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेको बताए । उनले दक्षिण एसियामा नेपालमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान नभएको उल्लेख गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्नु आवश्यक रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply