असार १४, काठमाडौ । नेपाल हाईकु केन्द्रकाे आयाेजनमा बुङ्गमतीमा ऋतुगत हाईकु यात्रा ” सम्पन्न भएकाे छ ।गृष्म/ वर्षा ऋतुलाई लक्ष्यित गरी काठमाडौ उपत्यका नजिकै रहेको ऐतिहासिक,पुरातात्त्विक तथा कृषिका लागि उर्वर मानिएको खोकना तथा बुङ्गमती क्षेत्रमा आइतबार आयाेजित “ऋतुगत हाईकु यात्रा” मा हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि बाचन समेत गरेका थिए ।
कार्यक्रमकाे शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले प्राकृतिक वातावरणमा बिचरण गरेर लेखिने हाइकुले गहन भाव र बास्तविकताको झलक प्रस्तुत गर्ने हुँदा ऋतु परिवर्तनमा हाइकु यात्राको अवधारणा ल्याइएको बताए ।
जापानबाट नेपाल आइपुग्नुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले जापान नेपाललाई साहित्यिक सम्बन्ध जोड्न हाइकुले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।उनले यस बर्ष नेपालमा हाइकुको अन्तर्राष्ट्रिय भेला गर्न पहल भैरहेको जानकारी गराए। स्थलगत अवलोकन पछि रचना गरी वाचन गरिएका हाइकु बारे टिप्पणी गर्दै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष डा. मित्रबन्धु पाैडेलले यात्रा हाइकुमा रचित हाइकुहरूले प्रकृति र समाजको प्रवृत्ति दुबै बोलेको टिप्पणी गरे ।
संचारकर्मी शिरोमणि दवाडीले खोकना र बुङ्गमतिको इतिहास बारे चर्चा गर्दै बिकासले अस्तित्व बिनास गरेकोमा दु:ख ब्यक्त गरे । कार्यक्रममा रामकुमार पाँडे,प्रकाश पौडेल माइला, शिराेमणि दवाडी,डा. मित्रबन्धु पाैडेल,घनश्याम गाैतम,पुष्कर जङ्ग थापा, किशाेर बज्र बज्राचार्य, पशुपति दंगाल, चन्द्र कला शाह,शान्ति सापकोटा,प्रभा बराल,दिब्य गिरी,बिदित दवाडी,आदेश आचार्य,शिव पाठक लगायतका १६ जना श्रष्टाहरूले तत्काल रचना गरेका १०/१० वटा हाइकु बाचन गरेका थिए।वाचित सिर्जनालाई कृतिका रुपमा संग्रहित गरिनेछ ।