फरवार्डले रोपाइँ गरेर धान दिवस मनायो

Post Thumbnail

असार १६, काठमाडौ । राष्ट्रिय धान दिवसको अवसरमा सुनसरीको दुहवीमा धान रोपाई कार्यक्रम आयोजना गरिएको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड बचत तथा ऋण सहकारी संस्था तथा लायन्स क्लव अफ दुहवी ३२५ ए वानको संयुक्त आयोजनामा करिब आठ कठ्ठा खेतमा धान रोपाई कार्यक्रम गरिएको थियो ।

संयुक्त रोपाई कार्यक्रम नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले विधिवत रुपमा पुजा गरी सुरुवात गर्दै धानको विउ रोपेकी थिइन् । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँने गरेकोमा दुहवीमा धान रोपाई गरिएको हो ।

कार्यक्रममा स्थानीय किसानसँगै युवाहरुको साथमा नेतृ चौधरीले उत्साहपूर्वक रोपाईमा सहभागीता जनाएकी थिइन् । राजनीतिसँगै समाजसेवा र महिला आर्थिक सशक्तिकरणको अभियानमा सक्रिय चौधरीले ‘कृषि मुलश्च जीवनम्’ भन्ने भनाईलाई ब्यवहारिक रुपमै लागू गराउन कृषि क्षेत्रमा समर्पितहरुको सम्मान गर्नुपर्ने बताइन् ।

धानको उत्पादकत्व बढाउन र कृषि कर्ममा समर्पित किसानहरुप्रति सम्मान जनाउन र कृषि नै मानव जीवनको आधार स्तम्भ रहेको बुझाउन कार्यक्रम गरिएको नेतृ भगवती चौधरीले बताइन् ।

नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने तथा कृषिलाई व्यवसायिकरण गर्नुपर्ने माग भएता पनि राज्यले कृषि क्षेत्रको विकास, प्रवद्र्धनमा ठोस कार्यायोजना ल्याउन नसकेको नेतृ चौधरीको बुझाई छ । परम्परागत कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक कृषि प्रणाली अवलम्बन गर्नसके नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर हुने संभावना भएतापनि राज्यको कृषि नीति कमजोर रहेको नेतृ चौधरीको धारणा छ ।

‘कृषि क्षेत्रको विकास र विस्तारमा सरकारको नीति सधैं कमजोर भयो । आधुनिक कृषि प्रणाली छैन, किसानले समयमा मल, बिउविजन पाउँदैनन्, उत्पादित वस्तुहरुको उचित मुल्य पाउँदैनन् । एक हिसाबले हेर्ने हो भने हाम्रो कृषि उत्पादनहरु घरपरिवार चलाउने भन्दा माथि जान सकेन ।’ जवसम्म कृषि क्षेत्र व्यवसायिक हुन नक्दैन तवसम्म मुलुक परनिर्भरतामा रुमलिनु पर्ने बताउँदै चौधरी भन्छिन् ।

धान रोपाई कार्यक्रममा फरवार्ड माइक्रोफाइनान्स, ग्रामिण महिला उत्सुकता विकास मञ्च, फरवार्ड सहकारी तथा लायन्स क्लब दुहवीसँगै स्थानीय किसान दाजुभाई दिदिबहिनीहरुको समेत सहभागिता रहेको थियो ।

रोपाई कार्यक्रममा फरवार्ड माईक्रोफाइनान्सका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई, ग्रामीण महिला उत्सुकता विकास मञ्चका उपाध्यक्ष कलाबती थरुनी, लायन्स क्लव अफ दुहवी ३२५ ए वानका अध्यक्ष राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस