गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि अधिकारकर्मीको अपिल

Post Thumbnail

जेठ २२,काठमाडौँ । फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएका व्यक्तिहरुलाई सजाय दिन न्यायको माग राख्दै सत्याग्रहमा रहेकी गङ्गामाया अधिकारीले आमरण अनसन पुनः सुरु गरेको सातौं दिन बितिसक्दा पनि नेपाल सरकारको यसतर्फ कुनै पहल नभएकोमा जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले जेठ २१ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘यसअघि छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते चितवनको बकुलरचोकमा विभत्स तरिकाले गरेको हत्याका विरुद्ध न्याय खोज्दाखोज्दै उनका पति नन्दप्रसाद अधिकारीको ३ सय ३४ औं दिनको आमरण अनसनपछि मृत्यु भएको हो ।

हत्याको किटानी जाहेरी परेपनि चितवन जिल्ला अदालतमा करिब पाँच वर्षदेखि सुनुवाइ भइरहँदा पनि विभिन्न बहानामा यस मुद्दाको पेशी बारम्बार सार्दै जानु विडम्बनापूर्ण रहेको ठहर समितिको छ ।’

समितिले सत्याग्रही गङ्गामायाको माग अनुसार सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न दुई वर्ष अघि दिएको आदेश तत्काल कार्यन्वयन गरी उनलाई न्यायको अनुभूति दिलाउन र जीवन रक्षा गर्न नेपाल सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ ।

‘सम्बन्धित अस्पतालले दिएको जानकारी अनुसार गङ्गामायाको स्वास्थ्य स्थिति आजदेखि झन गम्भीर हुँदै गएकोले उनको जीवन रक्षाका उपाय तत्काल खोजियोस् भन्ने सरकारसँग जोडदार आग्रह गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस