जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय

साउन ५,डोटी । डोटीका पालिकाले जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएको पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए । वडामा जाँड–रक्सी वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपछि यो निर्णय गरिएको हो ।

यसैगरी यस वडामा सञ्चालन हुने गाडीमा जाँड–रक्सी ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ुहोल्डु राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

यसैगरी डोटीकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले जाँड–रक्सी बिक्री र ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।

यसैगरी जाँड–रक्सी खानेलाई पहिलो पटक दुई हजार पाँच सय र दोस्रो पटक खानेलाई पाँच हजार रुपैयाँ जरिबाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा जाँड–रक्सी बिक्री, वितरण तथा खान पूर्णरूपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए ।

डोटीमा नौ वटा पालिका रहे पनि अन्य पालिकामा भने जाँड–रक्सी बिक्री वितरण, ओसारपसार तथा खानेलाई कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । कतिपय पालिकामा लाइसेन्स लिएर जाँड–रक्सी बिक्री, वितरण भइरहेकाले तिनीहरूलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी खड्काले जानकारी दिए ।

-रासस

संम्बन्धित समचार

Leave a Reply