एनएमबि बैंक ३ अर्ब ७० करोड नाफा कमाउन सफल !

साउन १९,काठमाडौँ । एनएमबि बैंक उच्च नाफा कमाउन सफल बनेको छ । अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसीको मेहनतको फलस्वरुप बैंक उच्च नाफा कमाउन सफल भएको हो ।

खुद ब्याज आम्दानीसँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि भएको हो । एनएमबि बैंकले आज आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको सो बैंकले गत आबमा ३६।५३ प्रतिशतले नाफा बढाएको हो । गत आबमा खुद ब्याज आम्दानी १५।७५ प्रतिशतले वृद्धि भएर ६ अर्ब ५५ करोड २२ लाख पुगेको एनएमबिले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनबाट ४८ करोड ४३ लाख राइटब्याक गरेको छ ।

कर्जा लगानी १६.४१ प्रतिशतले विस्तार गरेर एक खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पुर्याएको एनएमबि बैंकले निक्षेप १२.३७ प्रतिशतले वृद्धि गरी १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पुर्याएको छ । कर्जामा वृद्धिसँगै बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) पनि बढेको छ ।

जसले गर्दा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको हो । अघिल्लो आबमा ३.०९ प्रतिशत रहेको बैंकको स्प्रेड रेट गत आबमा ४.०५ प्रतिशत पुगेको छ । आम्दानी वृद्धिसँगै बैंकको खुद सञ्चलान आम्दानी ३०.६४ प्रतिशतले बढेर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । बैंकको सञ्चालन आम्दानीसँगै कर्मचारी खर्च बढेपनि सञ्चालन मुनाफामा आकर्षक वृद्धि भएको छ ।

बैंकको कर्मचारी खर्च २४.४५ प्रतिशतले वृद्धि भएर २ अर्ब ६० करोड नाघेको छ । खुद सञ्चालन आम्दानीमा भएको वृद्धिले कर्मचारी खर्च बढेपनि बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले वृद्धि भएर पाँच अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत आबमा १२.५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखबाट १८ अर्ब ३६ करोड ६७ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख छ ।

पुँजी बढे पनि बैंकको नाफामा वृद्धिसँगै प्रमुख वित्तीय सुचकहरुमा पनि सुधार भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ६६ पैसाबाट बढेर १४८ रुपैयाँ १४ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रिटर्न अन इक्युटी १४.४७ प्रतिशत पुगेको छ ।

यता बैंकको कोषको लागत बढेसँगै बेसरेट ६.९९ प्रतिशतबाट ९.३८ प्रतिशत पुगेको छ । यस्तै निष्कृय कर्जा २.२७ प्रतिशतबाट १.३३ प्रतिशतमा झरेको छ । पुँजी पर्याप्तता अनुपात १५.०८ प्रतिशतबाट १३.७६ मा झरेको छ । यस्तै बैंकको कर्जा– निक्षेप अनुपात ८५.५५ प्रतिशत छ ।

संम्बन्धित समचार

Leave a Reply