स्मार्टच्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा सहकारीका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ

साउन २०, काठमाडौं । सहकारीहरूका लागि ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबार सहकारीहरूका लागि ‘कोप कार्ड’ शुभारम्भ गरेका हुन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमबिच ‘कोप कार्ड’ सेवा शुभारम्भ गरिएको छ । विगत केही समय अगाडीदेखि एससीटीले एक सय भन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सत्रै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरूलाई एउटै ब्राण्डको ‘कोप कार्ड’ जारी गर्न लागिएको हो ।नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरूप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा एटिएम कार्ड, स्मार्ट कार्ड र मोबाइल बैङ्किङ मार्फत आफ्नो सेवा दिँदै आएको छ । अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै सुविधा पुर्‍याउँदै आएकोमा हाल बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्यनजर गर्दै सहकारीहरूले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रक्रिया मिलाइएको छ ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्ट्राक्टलेश प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम, पिओएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस ‘कोप कार्ड’ ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरूले जारी गर्नेछन् ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी ‘कोप कार्ड’ जारी गर्न सक्ने राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply