आजदेखि ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन

Post Thumbnail

साउन २२,काठमाडौँ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आज एक कार्यक्रम आयोजना गरेर पुनः काठमाण्डौ उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाइएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाण्डौ महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो ।

ट्राफिक स्वयम्सेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नो हर्न अभियानलाई काठमाण्डौमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए ।

उनले नो हर्न अभियान पहिलेदेखि सञ्चालन गरिए पनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको बताए । मेयर शाहले गाडीबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाउन लागेको बताए । उनले गाडी चालकहरुले पनि धैर्यता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।

मेयर शाहले भने, ‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ । जनचेतना फैलाउन आवश्यक पनि भएको छ । गाडीहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक समस्या पैदा गरेको छ । यसले इरिटेशन एकदमै धेरै बढाइरहेको पाइएको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ । व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो । बाटोमा गाडी गुडाउँदा चालकले धैर्य राख्नुपर्छ ।’

कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् । उनले जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन् ।

काठमाण्डौ महानगरपालिकाले २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस