भैरहवालाई हराउँदै ललितपुर क्वालिफायरमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत ललितपुर प्याट्रिओट्स क्वालिफायरमा प्रवेश गरेको छ। यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको ललितपुरले सनी पटेलको उत्कृष्ट बलिङमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान पक्का गरेको हो।

भैरहवाले दिएको ९३ रनको लक्ष्य ललितपुरले १४.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्‍यो।

जितसँगै ललितपुर क्वालिफायरमा पुग्यो। क्लालिफायरमा जित हात पारे ललितपुर सिधैं फाइनलमा पुग्नेछ। हारले पनि ललितपुरलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।

यता भैरहवाको पनि क्लाफाइरमा पुग्ने सम्भावना बाँकी छ। सोमबार काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेलपछि दोस्रो चरण समिकरण पक्का हुनेछ। काठमाडौंले जित हात पारे क्वालिफायर पुग्नेछ। काठमाडौंले हार बेहोरे भैरहवा क्वालिफायरमा पुग्नेछ। विराटनगर पराजित भए चितवन टाइगर्स पनि दोस्रो चरण पुग्ने सम्भावना हुनेछ।

लिगमा ५ खेलबाट ८ अंक जोड्दै ललितपुर शीर्ष स्थानमा छ। दोस्रो स्थानको भैरहवा र तेस्रो स्थानको काठमाडौंको ६-६ अंक छ। दुवै टिम प्लेअफमा पुगिसकेका छन्। विराटनगर र चितवनको ४-४ अंक छ। दुई मध्ये एक टिम प्लेअफमा पुग्नेछन्। पोखरा राइनोज पाँचै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरियो।

आइतबार कीर्तिपुरमा भएको खेलमा ललितपुरका ओपनर गौरव तोमार पहिलो ओभरको अन्तिम बलमा ९ रन जोडेर आउट भए। उनलाई मोहमद नावीदले शरद भेषवाकरबाट क्याच गराए। लगत्तै अर्को ओभरमा ज्ञानेन्द्र मल्ल रायन टेन डोकास्टेले ४ रनमा आउट गरे। कुशल भुर्तेलले पनि २ रन भन्दा बढी जोड्न सकेनन्। ललितपुरले चार ओभर चल्दै गर्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो।

त्यसपछि मैदान प्रवेश गरेका पवन सराफले २५ रन जोड्दै ललितपुरको स्कोरबोर्ड चलायमान बनाए। उनले शरद भेषवाकारबाट बोल्ड हुनुअघि ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोरा १८ रन र जयकिशन कोल्शावाल २२ रनमा नटआउट रहे।

बलिङमा भैरहवाका रायन टेन डोकास्टले २ विकेट लिए। शरद भेषवकार र मोहमद नाविदले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवा १९ ओभरमा ९२ रनमा अलआउट भयो। खराब ब्याटिङको नमुना प्रस्तुत गरेको भैरहवाका लागि २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोडे। रवि इन्दर सिंहले २५ रन बटुले। तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। रायन टेन डोस्काटेले सबैभन्दा बढी ३७ रन बटुले। उनले ३६ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनरद्वय मोहमद नावीद र प्रदीप ऐरी २-२ रनमा आउट भए। दुवै सनी पटेलले पेभिलियनको बाटो देखाए। कप्तान शरद भेषवाकर १ रन, आरिफ शेख ४ रन, रोहितकुमार पौडेल ७ रन, कृष्ण कार्की ४ रन, भुवन कार्की ०, कुशल कार्की ३ रनमा आउट भए।

भैरहवाको इनिङ ध्वस्त पार्ने क्रममा ललितपुरका सनी पटेलले ५ विकेट लिए। उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। रासिद खान र पवन सराफले २-२ विकेट हात पारे। ललितसिंह भण्डारीले १ विकेट हात पारे।

ताजा अपडेट

खोजी गर्नुहोस