कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाई काठमाडौं आइपुगे

भाद्र १,काठमाडौँ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौं आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

बुधबारै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ । नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसैका लागि २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।

एन्फाले हुमागाईंको सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल बिरामी बिदामा आफ्नै देश कुवेतमा छन् । खेलाडी(प्रशिक्षक विवादको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा अल्मुताइरीको जवाफ आउन बाँकी रहेकाले पनि एन्फाले बंगलादेशसँगको खेलका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।
हुमागाईले मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई छनोट गरिसकेका छन् । हुमागाई आएपछि राष्ट्रिय टिमको प्रशिक्षण पनि छिट्टै सुरु हुने भएको छ । बिहीबार प्रशिक्षक हुमागाईले टिम मिटिङ गर्ने र त्यसपछि प्रशिक्षणको मिति तय हुने एन्फा महासचिव किरण राईले जानकारी दिए ।

पछिल्लो समय पुटबल गतिविधि नहुँदा कतिपय फुटबल खेलाडी विदेश पलायन भएका छन् भने केही खेलाडी भारतको स्थानीय प्रतियोगिता खेल्न गएका छन् । हुमागाईले बोलाएका केही खेलाडीहरु भारतबाट बुधबार नेपाल आइपुग्दैछन् ।

संम्बन्धित समचार

Leave a Reply