वर्षमान पुनले भने–’नागरिकता विधेयकमा एमालेले राजनीति गरिरहेको छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उनले एमालेलाई आग्रह गरे ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउने काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका छोराछोरीले नागरिकता नपाएको अवस्थामा अप्ठ्यारा भोगिरहेका छन् । विदेश भ्रमण होस् वा बैंक खाताको कुरा होस्, यसमा समस्या भोगिरहेका छन् ।

ती अप्ठ्यारा फुकाउनकै लागि यो विधेयक ल्याइएको हो र अरू केही जरुरी कुराहरू मात्रै यसमा राखिएको छ । यसमा वैवाहिक अङ्गीकृत लगायतका विषयमा आउँदा दिनमा राष्ट्रिय सहमति बनाएर प्रस्तुत हुने सरकारले भनेको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔँ । बरु परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको यो विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस