‘गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्छ’ : अध्यक्ष नेपाल

भाद्र १५,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पार्टीको केन्द्रीय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ती सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताए । सो संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उनले बताए । अध्यक्ष नेपालले गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्ने पनि बताए । उनले नेपालमा विभिन्न जातजाति र भाषाहरु रहेको भन्दै तिनलाई जनाउने जातिय संग्रहालय पनि बनाउनुपर्ने बताए ।

अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताए । कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उनले उल्लेख गरे । उनले अदालत विकासप्रेमी हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताए । उनले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताए ।

 

संम्बन्धित समचार

Leave a Reply