स्वतन्त्र समूहको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र १६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १६,काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू सङ्गठित रूपमै मङ्सिर ४ गतेको चुनावमा उठ्ने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गर्दै साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरिएको छ ।

घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाण्डौ क्षेत्र नम्बर ८ बाट आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू नागरिक र देश केन्द्रित नभएको बताए । उनले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताए ।

सायमीले अहिले नेपालमा भएका दलहरू एकै खालका भएको टिप्पणी पनि गरे । उनले अहिले नेपालमा भएका ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको दाबी गरे। सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गरे । उनले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने दाबी गरे ।

त्यस्तै कलाकार मधुसूदन पाठक (सीते बा) ले पनि काठमाण्डौ ५ बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गरे । उनले आफूले १७ वर्षको उमेरदेखि काठमाण्डौ ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताए ।

लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ सात जना र प्रदेश सभातर्फ चार जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । विद्या श्रेष्ठ महर्जनले काठमाण्डौ ९, राजाराम तण्डुकारले ललितपुर ३ र भीष्म रानाले रुपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर २ बाट लोकेन्द्र र काठमाण्डौ २ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस