नुवाकोटसहित पाँच जिल्लामा छैन डेङ्गीका संक्रमित, मूख्य लक्षणहरू के-के हुन् ?

Post Thumbnail

भाद्र १७, काठमाण्डौ ।  ताप्लेजुङ्ग, रसुवा, नुवाकोट, मुस्ताङ्ग र हुम्लामा अहिलेसम्म डेङ्गीका रोगी भेटिएको छैन । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको विवरण अनुसार देशका ७७ मध्ये ७२ जिल्लामा डेङ्गी सङक्रमित फेला परेका छन् । प्रदेश एकका १४ मध्ये ताप्लेजुङ्गबाहेक अरु १३ जिल्लामा, वाग्मतीका १३ जिल्लामध्ये रसुवा र नुवाकोटबाहेक अरु ११ जिल्लामा, गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लामा र कर्णालीका १० मध्ये हुम्लाबाहेक ९ वटा जिल्लामा सङक्रमित भेटिएका छन् ।

ललितपुर, काठमाण्डौ, रुपन्देही, भक्तपुर, तेह्रथुम, धादिङ, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँचीमा सङक्रमित धेरै छन् ।
अहिले डेङ्गी नदेखिएका ५ जिल्लामा पनि सङ्क्रमित हुन सक्ने तर गम्भीर अवस्थामा अस्पताल पुग्नु पर्ने अवस्था नरहेको हुँदा तथ्याङकमा नसमेटिएको हुनसक्ने आँकलन छ ।

डेङ्गीका मूख्य लक्षणहरू :

  • उच्च ज्वरो आउनु
  • जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
  • आँखाको गेडी दुख्नु
  • बेस्सरी टाउको दुख्नु
  • शरीरमा राता बिमिराहरू आउनु
  • वाकवाकी लाग्नु वा वान्ता हुनु

डेङ्गीबाट बच्ने उपायहरू :

  • एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ । त्यसमाथि पनि बिहान र बेलुकाको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
  • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्न मलम लगाउने ।
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
  • बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
  • पुरै शरीर ढाक्ने लुगा लगाउने ।
  • पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ ।
  • काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्नुपर्छ ।
  • घर र विद्यालयको अँध्यारा कुना–काप्चा, जस्तैः पर्दा पछाडि, खाटमुनि, शौचालय भित्र, डेस्क र बेन्चमुनि किटनाशक औषधि छर्कने गर्नुपर्छ ।
  • कम्तिमा हप्ताको एक पटक कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नुपर्छ ।
  • लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।

डेङ्गीका लक्षणहरू देखिएमा के गर्ने ?

  • स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
  • घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधिको सेवन नगर्ने ।
  • अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
  • डाक्टरको सल्लाह नलिइकन कुनै पनि औषधि नखाने ।

ताजा अपडेट

खोजी गर्नुहोस