गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १८, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १८,काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज शनिवार काठमाण्डौमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।

‘समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ’, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्‍याउन काम गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिएको उल्लेख गर्दै उनले चुनावमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्त्वपूर्ण भूमिका हुने बताए । सरकारले चुनाव निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उनले बताए ।

विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले जानकारी दिए । त्यस अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा. केसी, लक्ष्मीराज पाठक र महासचिव डा। मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस