उद्योगी व्यवसायीको समस्या समाधान गर्न जुनसुकै बेला साथमा हुनेछु : उपाध्यक्ष सांघाई

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र १९, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १९,मोरङ । उर्लाबारी उद्योग वाणिज्य संघको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सांघाईले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरे । उनले मोरङ र झापामा रबर उद्योगको सम्भावना रहेको बताउदै त्यसको लागि आफुले काम गरिरहेको बताएका छन् । उनले यतिबेला तरलताको अभाव रहेको बताउदै उद्यमीलाई तरलता अभावले पुँजी निर्माणमा समस्या परेको बताए ।

सांघाईले मुलुकलाई आत्मनिर्भर बनाउन सबै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताए । उनले सिमेन्ट,किलिङकर,बिद्युत लगायतमा नेपाल अत्मनिर्भर हुँदै निर्यात गर्नसक्ने अवस्थामा पुगेको बताए । उनले बिजुली निर्यात गर्न सक्नु नेपालको लागि सुखद पक्ष भएको बताए । उपाध्यक्ष सांघाईले उद्योगी व्यावसायीले आफ्नो समस्या सिधा आफुलाई भन्न आग्रह गर्दै उद्योगी व्यवसायीको समस्या समाधान गर्न आफु कुनैपनि बेला साथमा रहने विश्वास दिलाए । उनले मोरङ र झापा धानको लागि उर्वर क्षेत्र भएकोले धानमा आत्मनिर्भर हुनको लागि सबै किसिमको पहल गर्न जरुरी रहेको बताए । उनले उर्लाबारी उद्योग बाणिज्य संघलाई १ लाख १ हजार सहयोग गर्ने बताए ।

कार्यक्रममा मोरङका सांसद घनश्याम खतिवडाले उद्योग बाणिज्यको क्षेत्रमा व्यवसायीले खेलेको भुमिका महत्त्वपूर्ण रहेको उनले बताए । व्यापार घाटालाई घटाउन निजी क्षेत्रसंग सहकार्य गर्न जरुरी रहेको उनको भनाइ थियो । करको दोहोरो प्रणालीको अन्त्य गर्नपर्ने बताए । उनले स्वदेशी उत्पादनलाई बढवा दिदै निर्यातमुखी व्यापार आजको आवश्यकता रहेको उनको धारणा थियो ।

त्यसैगरी कार्यक्रममा उद्योग बाणिज्य महासंघका निर्वतमान उपाध्यक्ष किशोर प्रधानले कात्तिक १ गतेदेखि व्यवसायीमाथी आउने भुकम्पलाई रोक्नपर्ने बताए । उनले भन- त्यो भनेको नेपाल राष्ट्र बैंकले चालु पुजीलाई ४० प्रतिशत कार्यान्वयन गर्दैछ । अहिले ८० प्रतिशतमा बैंकले काम गरिरहेको छ । यसले साना तथा मझौला उद्योगमा मार पर्नेछ ।’

नेपाल सरकारले ७० प्रतिशत राजस्व बुझाउने साना तथा मझौला उद्योगको अस्तित्वलाई स्वीकार नगरेको बताउदै त्यसको लागी महासंघले गम्भीर भएर सोच्नुपर्ने प्रधानले बताए । अब आउने व्यवसायिक आन्दोलनलाई नयाँ दिशातर्फ अघि बढाउन पर्ने उनको धारणा थियो । कार्यक्रममा प्रदेश सांसद कुल प्रसाद साम्बाले पार्टीभन्दा माथी उठेर बिकास बाटोमा अघि बढेको बताए । उनले उर्लाबारीको सडकलाई स्तरोन्नती गरेर यहाँको व्यापार तथा जनजिवनलाई सहज बनाउन आफुले निरन्तर प्रयास गरिरहेको समेत बताए ।

कार्यक्रममा समाजसेवी देबेन्द्र श्रेष्ठ, सफल व्यवसायीहरु चन्द्रमाया थपलिया, रेखा खड्का,मोहन खड्का र उदयचन्द्र झा, पत्रकार सुमन घिमिरेलाई खादामालासहित सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले गरेका थिए । कार्यक्रममा उर्लाबारी नगरका नगरप्रमुख गङ्गा प्रसाद खरेल,उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्यहरु नरेन्द्र खड्का ,कमल श्रेष्ठ लगायत उद्योगी व्यापारीको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस