भाद्र २७, काठमाण्डौ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज पनि छलफलमा जुट्ने भएका छन् । सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष तहका नेताहरू छलफलमा सहभागी हुनेछन् ।
सत्ता गठबन्धनबीच साउन २० मा तालमेल गरेर जाने विषयमा औपचारिक सहमति गरे पनि कसले कति सिट लिने भन्नेमा सहमति हुन सकिरहेको छैन । ११ सदस्यीय कार्यदल बनाएर सिट बाँडफाँटबारे एक महिना छलफल गरे पनि सिट बाँडफाँटबारे सहमति हुन सकेको थिएन । त्यसपछि शीर्ष तहका नेतालाई सिट बाँडफाँटमा सहमति खोज्न जिम्मेवारी दिइएको थियो ।