देश छोड्न बाध्य रुसी नागरिकलाई जर्मनीले शरण दिने

आश्विन ७,काठमाडौँ । रुसमा सेना परिचालनपछि देश छोड्न बाध्य नागरिकलाई जर्मनीले शरण दिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रूसबाट पलायन हुन थालेका छन् । जर्मनीले ती नागरिकलाई आफ्नो देशमा शरण दिने जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

रूसी नागरिकले शरण मागेमा अन्तर्राष्ट्रिय नियम अनुसार जर्मनीमा सुरक्षा प्राप्त गर्न सक्ने गृहमन्त्री न्यान्सी फेसरले बताएका छन् । युक्रेनमा आक्रमण गरिरहेको रुसले बुधवार सेना परिचालनको निर्णय गरेको थियो । रुसी रक्षा–मन्त्री सर्गेइ शोइगुले युक्रेनसँगको युद्धका क्रममा अहिलेसम्म झन्डै ६ हजार रूसी सैनिक मारिएको समेत बताएका छन् ।

सात महिना लामो विशेष सैन्य अभियानमा रुसले ५ हजार ९ सय ३७ जना सैनिक गुमाएको उनको दाबी छ । गएको अगस्टमा अमेरिकी रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा रुसी पक्षका झण्डै ७० देखि ८० हजार सैनिक मारिएका वा घाइते भएका प्रक्षेपण गरेको थियो । तर अहिले रुसले सार्वजनिक गरेको सैन्य हताहतीको सङ्ख्या अमेरिकी रक्षा मन्त्रालयको प्रक्षेपणभन्दा निकै कम छ ।

संम्बन्धित समचार

Leave a Reply