पौष ९, काठमाडौं । बिग बास लिग-बीबिएल क्रिकेटअन्तर्गत सोमबार हुने खेलमा नेपालका सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्ससँग खेल्दै छ। यो खेल होबर्टको मैदानमा हुने छ।
दुवैले प्रतियोगितामा एक एक खेल खेलेका छन्। उक्त खेल स्टार्सले हारेको थियो भने होबर्टले जितेको थियो। वर्षाले प्रभावित खेलमा स्टार्सले सिड्नी थन्डरसँग ४५ बलमा ८६ रन बनाउनुपर्ने लक्ष्य पाएपनि १५ रनले पराजित भएको थियो।
त्यस खेलमा पहिला ब्याटिङ गरेको थन्डरले एक सय ८२ रनको लक्ष्य दिएको थियो। सन्दीपले चार ओभरमा ३७ रन खर्चिएर दुई विकेट हात पारेका थिए। पहिलो ओभरमै दुई विकेट झारेका सन्दीपले अन्तिम दुई ओभरमा मात्र २७ रन खर्चिएका थिए।
होबर्ट र स्टार्सबीच भएको अन्तिम भिडन्तमा स्टार्स विजयी भएको थियो। गत जनवरीमा बिग बासकै भिडन्तमा होबर्टले दिएको एक सय ८६ रनको लक्ष्य स्टार्सले सात विकेट गुमाएर पुरा गरेको थियो।