पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनपर्ने बेला आएको छ : महामन्त्री थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १४,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रवार आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताए । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गरे ।

महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यकता बोध हुन थालेको दाबी गरे । उनले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर्ने शाहस थपिएको भन्दै युवाहरुलाई निराश नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

महामन्त्री थापाले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । हाम्रो आफ्नै पार्टीभित्र सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढङ्गले हेरिएन भन्नेछ।’

महामन्त्री थापाले सरकारले डेङ्गी नियन्त्रणलाई प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकार मात्र चुनाव लगायत अन्य कुरामा केन्द्रित भएको र जनताको स्वास्थ्योपचारमा उदासिन बनेको बताए ।

उनले पूर्ववर्ती सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर विरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेङ्गी नियन्त्रण र न्यूनीकरणका लागि पहल हुन नसकेको बताए । महामन्त्री थापाले डेङ्गीका कारण चाडबाडको बेलामा जनजीवन प्रभावित बनेको भन्दै प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्ने बताए ।

उनले सरकारसँग देशभरको डेङ्गी सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएका दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे । महामन्त्री थापाले सरकारले महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस