असोज १७, काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रतिनिधि सभा र र प्रदेश सभा सदस्य पदका लागि सिट बाँडफाँट टुङ्गयाउन सत्ता गठबन्धनका शीर्षसहित कार्यदल सदस्यहरूको बिहानैबाट छलफल जारी छ ।
बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रतिनिधि सभाका केही निर्वाचन क्षेत्र र प्रदेश सभाका निर्वाचन क्षेत्रबारे छलफल भइरहेको जसपाका कार्यदल सदस्य मनिष सुमनले जानकारी दिए ।
‘हामी बिहान साढे ८ बजेदेखि छलफलमा छौ, आज टुंगो लगाउने भनिएको छ तर के हुन्छ हेरौँ’, सुमनले भने,‘ शीर्ष नेताले चाहे आजै सिट बाँडफाँट टुंगो लाग्छ ।’
सिट बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रले जसपा र नेकपा एकीकृत समाजवादीलाई पेलेको भन्दै असन्तुष्टि बढेको छ ।
यता जसपाले भने प्रतिपक्ष एमालेसँग पनि चुनावी तालमेलको संवाद अगाडी बढाएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको बताउँछन् ।