समानुपातिक बन्दसुचीबाट २९ जना उमेद्वारले नाम फिर्ता लिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १७, सोमबार (१ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असोज १७, काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्बाचनका लागी समानुपातिक तर्फका २९ जना उमेद्वारले बन्द सुचीबाट नाम फिर्ता लिएका छन् ।

निर्बाचन आयोगका सहायक प्रबक्ता गुरुप्रसाद वाग्लेका अनुसार बिभिन्न ७ दलका २९ जनाले उमेद्वारी फिर्ता लिएको जानकारी दिए । जसमध्ये प्रतिनिसभा तर्फ ९ जना र प्रदेश तर्फका २० जना रहेका छन् । अब आयोगले उमेद्वारी फिर्ता लिएका उमेद्वारहरु बारे समबन्धित दललाई पत्राचार गरिने जनाएको छ ।

नेकपा माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ । २०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएपछि अन्तिम समयमा आएर महराको नाम हटाएको हो । आफ्नै इच्छामा नाम हटाइएपनि प्रत्यक्ष चुनाव नलड्ने महराले यसअघिनै बताईसकेका छन् ।

आयोगले समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको थियो । उम्मेदवारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने र आजै दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यतालिका छ ।

उम्मेदवारले नाम फिर्ता लिएका कारण रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवारको मनोनयन गरी मनोनित उम्मेदवारको नामावली असोज २० देखि २२ गतेभित्रमा सम्बन्धित राजनीतिक दलले आयोगमा पेश गर्नुपर्नेछ ।

निर्वाचन कार्यक्रमअनुसार असोज २२ गते नै दिउँसो ३ बजेदेखि ५ बजेसम्म आयोगले उम्मेदवारको बन्दसूची प्रकाशन गर्नेछ । त्यस्तै असोज २३ गते बन्दसूचीमा उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिनेछ ।

आयोगले असोज ३० गते देखि कात्तिक ७ गतेसम्म उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धी दाबी विरोधको निवेदनमा जाँचबुझ र निर्णय गर्नेछ । कात्तिक ८ गते बन्दसूचीबाट नाम हटाउने र ९ गते अन्तिम सूची प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै प्रत्यक्षतर्फको मनोनयन असोज २३ गते हुने निर्वाचन कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस