आज बडा दशैँको महानवमी, सिद्धिदात्रीको पूजा आराधना गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन १८, मंगलबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौँ । बडादशैंको नवौं दिन आज घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ ।

भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ । दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ ।

हनुमानढोका दरबारका साथै सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जंगी निशान र कोत पूजा गर्ने चलन पनि छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

यस वर्षको विजया दशमी भोलि असोज १९ गते परेको छ । भोलि बिहान ११ बजेर ५१ मिनेटमा दशैंको उत्तम साइत परेको छ । शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ । घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।

यसैबीच आज हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर खुला गरिँदैछ । यो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले गए राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस