असोज १८, चितवन । आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको टुंगो लगाउन बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । हिजोको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो ।
आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताउँदै उनले केही क्षेत्रहरुमा मात्र सहमति हुन बाँकी रहेका बताए ।
यसअघि बैठकलाई निष्कर्षमा पुर्याउन आज बिहान दलहरूमा आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको थियो । बैठक भोलि फेरि बस्ने नेता पौडेलले बताए ।