असोज १९, काठमाडौं । आगामी मंसिरमा हुने चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो ३ बजे बस्न लागेको हो ।
यसअघि हिजो सिट बाँडफाँटको टुंगो लगाउन भन्दै गएराति अबेरसम्म बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको थियो । बालुवाटारमा झण्डै ४ घण्टा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकी टुंगिएको हो ।
बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटमा आफ्नो पार्टीलाई चेपुवामा पारिएको बताएपछि अन्तिम टुंगो लगाउने भनिएको बैठक निष्कर्षमा पुग्न सकेन । प्रतिनिधिसभामा जसपालाई १२ सिट जति दिने गरी कुरा मिलाउने गठबन्धनको तयारी रहे पनि जसपा अध्यक्ष यादवले मधेस प्रदेशमा मात्रै प्रतिनिधिसभा तर्फका १५ सिट आफूहरुलाई दिनुपर्ने अडान राखेका छन् ।
जसपासहित अन्य दलमा पनि सिट बाँडफाँटमा असन्तुष्टि रहेकोले गएरातिको बैठकमा कुरा मिल्न नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले कांग्रेसभित्रै पनि असन्तुष्टि धेरै रहेको र अन्य दलको पनि माग सम्बोधन गर्नुपर्ने बाध्यतामा आफूहरु रहेको बताए ।
असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेकाले आज भोलिभित्र जसरी पनि सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबाब गठबन्धनलाई छ । सिट बाँडफाँटको टुंगो लागिसकेपछि गठबन्धनका दलहरुले आफ्नो भागमा परेका सिटको टिकट वितरण सुरु गर्नेछन् ।