देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, सतर्कता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ आश्विन २०, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौँ । हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै , बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश १ का एक/दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद्‌हरूले जनाएका छन् ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस