वर्षाका कारण म्याग्दीका सबै ग्रामीण सडक अवरुद्ध

असोज २०, म्याग्दी । लगातारको वर्षाले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएको छ ।

तीन दिनदेखिको वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ । पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानमा सडक भासिएको छ ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले, गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायत सडक वर्षाले सडक अवरुद्ध बनाएको छ । खहरे र ग्रामीण क्षेत्रका खोलाहरुमा भेलबाडी आएको छ । ठाउँठाउँमा पहिरो जाँदा पदमार्ग समेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको बेनी नगरपालिका–३ का सोमबहादुर पुनले बताए ।

दशैँका टीका लगाउन आफन्तकोमा जाने अवरुद्ध सडकका कारण समस्यामा परेका छन् । सवारीसाधान सञ्चालन नहुँदा सर्वसाधारण पैदल यात्रा गर्दै टिका लगाउन जान थालेका छन् । सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दी जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्किने व्यक्ति मुस्ताङमा नै रोकिएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् । बेनी–जोमसोम सडक खण्डको शाखानदीको बहाव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खसिरहेको छ ।

यता बेनी–मालढुंगा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ । पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमाचल्ने सवारी साधन चलेका छैनन् । बाटोको अवस्थाका कारण पैदल हिँडेर गन्तव्यमा पुग्नसक्ने अवस्था समेत नरहेको स्थानीय बासिन्दा बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply