गठबन्धनको बैठक लगातार अनिर्णित, आज पुनः बैठक बस्दै

असोज २०, काठमाडौँ । लगातार अनिर्णित बनिरहेको सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँटको टुंगो लगाउने भन्दै हिजो लामै समय बसेको गठबन्धनका शीर्ष नेताहरुसहितको बैठकमा कुरा मिल्न नसकेपछि बैठक पुनः आज बस्ने गरी स्थगित भएको थियो ।

हिजोको बैठकमा सामूहिक तथा छुट्टाछुट्टै छलफल भएको थियो । प्रतिनिधिसभा सदस्यतर्फ सिट संख्यामा दलहरुले राखेको अडानका कारण सहमति जुट्न सकेको छैन ।

हालसम्म भएको छलफलअनुसार कांग्रेसलाई ८५, माओवादी केन्द्रलाई ४४, एकीकृत समाजवादीलाई १८ तथा जनता समाजवादी पार्टीलाई १६ सिट दिने कुरा भएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले दुईवटा सिटमा दाबी गरेको छ । तर १ सय ६५ प्रत्यक्षतर्फका सिटमा हालसम्मको खाकामासमेत दुई सिट पुग्दैन भने एकीकृत समाजवादी र जनता समाजवादी १८ र १६ सिटमा सहमत छैनन् ।

यस्तै प्रदेशसभा तर्फ पनि जसपाले मधेस प्रदेशमा शक्तिशाली दल बन्ने गरी सिटको दाबी गरिरहेको छ । जसका कारण सहमति जुट्न ढिलाइ भइरहेको छ । अन्तिम सहमति जुटाउने गरी अहिले ९ बजे पुनः बैठक बस्ने गरी हिजोको बैठक स्थगित भएको जसपा नेता मनिष सुमनले जानकारी दिए । जसपाले गठबन्धनले न्यायोचित सिट नदिए गठबन्धन तोडेर अन्य दलसँग तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply