वर्षेनी बालबालिका हराउने क्रम बढ्दो, गत वर्ष ४ हजार बढी बेपत्ता

असोज २०, काठमाडौँ । भविष्यको कर्णधार मानिने बालबालिकाहरु वर्षेनी हराउने क्रम बढ्दो देखिएको छ । बेपत्ता हुनेहरुमा बालक भन्दा बालिका झण्डै तेब्बरले बढी रहेका केन्द्रीय प्रहरीको तथ्यांकले देखाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेक प्रसाद राईले सामाजिक मानसिक, तथा मनोवैज्ञानिक कारणबाट बालिकाहरु धेरै घर छोडेर हिड्ने गरेको बताए ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८ सय ३१ बालक र १८ सय ९८ बालबालिका गरी २७ सय २९ जना बालबालिका हराएका थिए भने २५ सय ७ बालबालिका फेला परेका छन् । तीमध्ये दुइ जना बालक मृत फेला परेका थिए भने २ सय १० जना बालबालिका अझै कहाँ कस्तो अवस्थामा छन्, पत्ता लागेका छैनन् ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ६ सय ५८ जना बालबालिका बेपत्ता भएका थिए । जसमा ८ सय ४९ जना बालक थिए भने २ हजार ८ सय ९ जना बालिका हराएका थिए । उनीहरुमध्ये ३ हजार ३ सय ७६ जना फेला परिसकेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ६ सय ४६ जना बेपत्ता भएका थिए । तीमध्ये ४३ सय ९७ जनालाई नेपाल प्रहरीले खोजी गरेको छ भने २ सय ४९ जना अझै बेपत्ता रहेका छन् ।

तथ्यांक अनुसार ९४.६४ प्रतिशत फेला परे पनि ५.३६ प्रतिशत बालबालिकाका अझै बेपत्ता नै छन् । तर हराएकामध्ये शतप्रतिशत बालबालिका भेटिइसकेका दाबी प्रहरीको छ । डिआइजी राइले बेपत्ता भयो भनेर निवेदन परेका बालबालिका घर फर्किसकेपछि अभिभावकले प्रहरीलाई खबर नगर्ने भएकाले केही प्रतिशत बालबालिका अझै बेपत्ता नै देखिएको बताए ।

उनले भने, ‘छोरा छोरी कोही आफन्तकको गएको हुन्छ झैगडा भएर । अविभावक प्रहरीकोमा आएर रिर्पोट गर्यो अनि प्रहरी पनि परिपत्र गर्यो । बच्चा चाँही घर फर्किसकेको हुन्छ या आफन्तकोमा हु्न्छ । निवेदन दिने मान्छेको फर्केको प्रहरीलाई जानकारी दिएको हुदैन ।’

पारिवारिक वातावरण राम्रो तथा बालमैत्री नभएका परिवारका बालबालिका हराउने गरेको उनले बताए । अभिभावकले राम्रो भुमिका निर्वाह नगर्दा पनि बालबालिकाले घर छोडेर हिड्ने गरेको उनको बुझाई छ । हराएका अधिकांश बालबालिका बाल मजदुरको रुपमा भेटिने गरेको उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply