राप्ती र बबईमा आएको बाढीले तीन सय पचास घर डुबानमा

असोज २०, बाँके । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका-१ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेको हो ।

बाढी घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अत्यावश्यक सामाग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।

अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६.६३ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुगेपछि खतरा मानिन्छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको छ ।

यस्तै, अविरल वर्षाले बबई नदीमा आएको बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया—५ वालापुर डुबानमा परेको छ । यहाँका ५० भन्दा बढीघर डुबानमा परेको छ ।

बबईमा जलस्तर बढ्दै गएपछि स्थानीयहरुले सुरक्षित स्थानमा रहेको विद्यालयमा आश्रय लिएका छन् । डुबान बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर उद्दार कार्य भैरहेको छ । बबईको जलस्तर हाल ७.५ मिटरमाथि रहेको छ । बबईमा जलस्तर ६ मिटरमाथि पुगेपछि बाढीको खतरा तह मानिन्छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बाढीसँगै कटानले गुलरियाको प्रयागपुर, वालापुर र हरियाली टोलमा कटान भइरहेको बताए । कटान क्षेत्रबाट सुहेलवा, वालापुरबाट बाढी पसेको बताए ।

बबई नदीमा खतराको चिन्हमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेका छन् । जल तथा मौसम पूर्वनुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधरणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए ।

संम्बन्धित समचार

Leave a Reply