असोज २८, काठमाण्डौ । संवत २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित बनाउने सन्दर्भमा निर्वाचन आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले निर्वाचन आचारसंहिता, २०७९ पालना गर्नुपर्ने दायित्व भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति जस्ता निकायमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी तथा विद्यालय वा विश्वविद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारीलगायत निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरितको काम कारबाही गरेको अवस्थामा निजहरूलाई कानून बमोजिम कारबाही गर्नुपर्ने भएकोले कुनै कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्ने वा सामाजिक सञ्जालमार्फत मत माग्ने लगायतका निर्वाचन आचारसंहिता विपरितको काम कारबाही गरेमा त्यस्ता कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मीसमेतलाई निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसूर र सजाय) ऐन, २०७३, निर्वाचन आचारसंहिता, २०७९ तथा प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी सोको जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई गराउन निर्वाचन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ ।
साथै, निर्वाचन आचारसंहिता, २०७९ विपरित कार्य गर्ने कर्मचारी, शिक्षक, प्राध्यापक, सुरक्षाकर्मी तथा निर्वाचन आचारसंहिता पालना गर्नु पर्ने दायित्व भएका कुनै व्यक्तिलाई उपरोक्त निर्णय बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबाही गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न निर्वाचन आयोगको सचिवालयलाई निर्देशन दिएको छ ।