‘भोकसँगको अर्को युद्ध’ : भिजन गुरागाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष ११, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कविता : “भोकसँगको अर्को युद्ध “

एका बिहानै
खकन ढाकर तोक्मा संगै
एक पोको सामल तुमल लिएर
निस्किन्छ राजकुमार
भोक संगको युद्ध लड्न
युद्ध मैदानमा।
गाउँ भरिका
एक हुल सिपाही हरुका साथमा।

बिहानिको कलिला घामका किरण संगै
जुरुक्क उठेर नानी हरु
रट्न थाल्छन् जिन्दगीको पाठ
सधैं झैं
नानी हरु यन्त्र जस्तै छन्
साख्फारा माथीका अक्करे भिरमा
अभ्यस्त छन् पाइल चाल्न।
डोको नाम्लो र हसिया
क्षेप्यास्त्र भन्दा शक्तिसाली छन्
दुर्बिज बाजेले बुनेका डोकाको प्वाल
दुर्बिन जस्तै छन्।
नानी हरुले संन्सार नियाली दिन्छन्।

सातपत्रेको जंगलमा
आमाका खाली खुट्टाका
सात पत्र गए होलान्।
भोक संगको युद्ध जित्नु छ
हरेस खाएर कहिल्यै फर्किएनन्
तीन जुरे र मिल्केका गुराँसले
मेरी आमालाई चिन्छ्न्
म त्यही बाटो भएर हिड्दा
गफ गर्छु गुराँस हरु संग चिमालो संग
र त मलाई देख्दा यति धेरै खुसी हुन्छन्।
म संम्झिन्छु एउटा ईतिहास
एउटा पुरानो अतीत
हजुरआमाले सुनाएको
दन्ते कथा झै लाग्ने
तर वास्तविक जीवन जिवन कथा।
भोक संगको युद्धको भुङ्रोमा
बिरोलिएका छौं हामी

बा आउने बाटो कुरेर
बसिरहन्छे सानी बहिनी
मजेरीको डडिलमा
मिल्के डाडा माथी नजर राखेर
बा ले बगली बाट सु्टुक्क झिकेर
दिने सुन्तले चक्लेटको आस गरेर।
एक दुई तीन चार
बल्ल पाँचौ दिनमा एक ढाकर
सामान लिएर बा आउदा
कत्ती फुरुङग हुँदै भित्र बाहिर गर्छे दिलकुमारी।
बा ले ल्याइदिएको चक्लेटको खोलमा
उस्तै आकारको ढुङ्गा हालेर दुरुस्तै चक्लेट बनाउछे।
नुन तेल चामल चिनी
अत्यावश्यक सामान
कति जतनले चलाउने गर्नु हुन्छ आमा।
थाहा छ फेरि पनि भोकले
हामी लाई आक्रमण गर्ने छ।
म सोच्ने गर्छु अबको यो युद्ध हामिले जित्नेछौ हामी संग खानेकुरा छ।
अबको युद्धमा भोकहरुको पराजय हुनेछ।
अर्को नयाँ संसार बन्ने छ।
र भोक हरु संग कहिल्यै हाम्रो युद्ध हुने छैन।

बा ले जस्तै ढाकर तक्मा खाजा सामल तुमल बोकेर भोकको युद्धमैदानमा
मैले युद्ध लड्न जानू पर्ने छैन कुनै दिन
बा अब पर्दैन भोक संगको अर्को युद्ध गर्नु।
तिम्रो थाप्लो भरी कहिल्यै नमेटिने गरि
लेखिएको छ भोक हरु सग गरेको
युद्धको इतिहास
आमाका पैताला हरुको
छाप छ सातपत्रेका ढुङा हरुमा
त्यही इतिहास जोगाउनकै लागि
म अब गर्न दिने छैन
बा भोक हरु संगको अर्को युद्ध
बा ले भोक संगको युद्धको इतिहास लेखेका छन्
मेरी आमाले भोक संगको युद्ध जितेकी छिन् ।

-भिजन गुरागाई

शिवाताक्षी न पा ६ झापा

ताजा अपडेट

खोजी गर्नुहोस