आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खराब कर्जा ह्वात्तै बढ्यो

कात्तिक ११,काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको खराब कर्जा निकै बढेको छ । सञ्चालनमा रहेका २६ वटा बाणिज्य बैंकमा २४ वटा बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको घटेको छ भने एउटाको स्थिर छ ।

वाणिज्य बैंकले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनु्सार गत आवको पहिलो त्रैमास अवधिको तुलनामा चालु आवको सोही अवधिमा बैंकहरुको खराब कर्जा बढेको हो ।

राष्ट्र बैंकले गत असार मसान्तदेखि ऋणीलाई कोरोनाकालमा दिँदै आएका सबै प्रकारका सहुलियत कटौति गरेपछि त्यसको असर बैंकको वित्तीय विवरणमा देखिएको हो ।

बैंक वित्तीय संस्थाले निश्चित ऋणिलाई निश्चित समयका लागि ऋण दिएका हुन्छन् त्यो ऋण भनेको समयमा नउठेमा त्यस्तो कर्जालाई खराबको रुपमा हेरिन्छ । बैंकले लगानी गरेको कर्जा चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म उठाउन सकेन भने त्यस्तो ऋणलाई खराब कर्जामा राखिन्छ । बैंकले कर्जा उठाउन नसक्ने भएपछि कर्जा लिँदा राखेका धितो लिलाम गरेर पनि कर्जा उठाउने गर्दछ ।

अहिले वित्तीय प्रणालीमा अभाव लगानीयोग्य रकम (तरलता) अभावका कारण बैंकहरुले पर्याप्त लगानी गर्न पाएका छैनन् । गरेको लगानी पनि नउठ्दा खराब कर्जा बढिरहेको छ । अहिले बैंकले गरेको लगानी उठाउन नसक्दा नै खराब कर्जा बढेको देखिन्छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा १० वटा बैंकको खराब कर्जा रहेको छ । त्यसमा पनि सबैभन्दा बढी खराब कर्जा सनराइज बैंकको रहेको छ । बैंकको खराब कर्जा १.८१ प्रतिशत बिन्दुले बढेर २.९४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.१३ प्रतिशत रहेको थियो ।

यस्तै धेरै खराब कर्जा हुने दोस्रो बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । वाणिज्य बैंकको खराब कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा ०.५३ प्रतिशत बिन्दुले बढेर २.४८ प्रतिशत पुगेको छ ।

यस्तै बैंक अफ काठमाण्डूको खराब कर्जा २.४६ प्रतिशत पुगेको छ । गत आवमा ०.२९ प्रतिशत रहेकामा यो अवधिमा २.१७ प्रतिशत बिन्दुले बढेको छ ।

एनसीसी बैंकको पनि खराब कर्जा गत आवको पहिलो त्रैमासको तुलनामा १ प्रतिशत बिन्दुले बढेर २.४६ प्रतिशत रहेको छ । २ प्रतिशतभन्दा बढी खराब कर्जा हुने बैंकमा कृषि विकास बैंक २.३८, हिमालयन बैंक २.३१, नबिल बैंक २.३३, नेपाल बैंक २.३६, ग्लोबल आइएमई बैंक २.१० र सिद्धार्थ बैंकको खराब कर्जा २.१५ प्रतिशत रहेको छ ।

यस्तै १ प्रतिशतभन्दा बढी खराब कर्जा हुनेमा ११ वटा बैंक रहेका छन् । बाँकी बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम रहेको छ ।
१ प्रतिशतभन्दा बढी खराब कर्जा हुने बैंकमा कुमारी बैंक १.२८, नेपाल इन्भेष्टमेन्ट बैंक १.५७, मेगा १.६२, प्रभु १.८६, सिटिजन्स १.९१, सेञ्चुरी १.८८, माछापुच्छ्रे बैंक १.३, प्राइम बैंक १.८, सिभिल बैंक १.४१, एनएमबि बैंक १.९० र लक्ष्मी बैैंकको खराब कर्जा १.७२ प्रतिशत रहेको छ । यसमा नेपाल इनेभष्टमेन्ट बैंकको खराब कर्जा ०.७ प्रतिशतले घटेको छ भने सेञ्चुरी बैंकको गत आवको सोही अवधिको जति नै छ । बाँकी सबै बैंकको खराब कर्जा बढेको छ ।

१ प्रतिशतभन्दा कम खराब कर्जा हुने बैंकमा एभरेष्ट बैंक ०.३३, स्ट्याण्डर्ड चार्टर्ड ०.७७, सानिमा ०.९१, नेपाल एसबीआई ०.३६ र एनआईसी एशिया बैंकको खराब कर्जा ०.५९ प्रतिशत रहेको छ । गत आवको तीन महिनाको तुलनामा यी सबै बैंकको खराब कर्जा बढेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply