कात्तिक १५,सिन्धुपाल्चोक । बर्खामा बाँध बन्द गरेर रोकिएको मेलम्चीको खानेपानी आउँदो पुसमा मात्रै काठमाण्डौमा वितरण गर्ने तयारी भएको छ । दशैँलगत्तै पानी पठाउने भनिए पनि स्थानीय बासिन्दाका माग सम्बोधन गर्नेदेखि सडक मर्मतको काम नसकिएकाले मेलम्चीको पानी वितरणमा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यसपालि बर्खामा बाढीले पुर्याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँधबाटै पानी रोकेको थियो । मेलम्चीको बाँधतर्फ जाने १३ किलो मिटर सडक गएको वर्षदेखि नै बिग्रिएको थियो । मेलम्ची पुल बजारदेखि अम्बाथानसम्म भत्किएको सडकको केही भाग पालिकाले मर्मत गरे पनि हेलम्बुदेखि झण्डै चार किलो मिटर सडक अझै मर्मत हुन सकेको छैन ।
यो सडक बाढीले बगाएको छ । आयोजनाका गाडी र कामदार ओहोरदोहोर गर्ने सडक बिग्रिएकाले मेलम्चीको पानी पठाउन कठिन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रमुख कमलराज श्रेष्ठले बताए । झण्डै दुई वर्षअघि मेलम्चीको पानी काठमाण्डौ ल्याइएको थियो । २०७८ सालको असार १ र १५ गतेको बाढीले मेलम्चीको बाँधमा क्षति पुर्याएको क्षति झन्डै सात महिना लगाएर समाधान गरिएको थियो । तर, त्यसयता भने नियमित पानी आएको छैन।