राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रका विशेषताहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक १८, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था सहितको घोषणापत्र बिहीबार सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले मतदातासामु प्रस्तुत गर्ने प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘बाचापत्र’ सार्वजनिक गरिएको हो ।

२१ बुँदे घोषणापत्रमा संघीयतालाई चुस्त शासकीय स्वरुपमा परिकल्पना गर्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणलाई अगाडि सारिएको छ । महामन्त्री ढकालले भने ‘हाम्रो घोषणापत्रको कार्यान्वयन २०४७ सालको संविधान भन्दा पनि कम खर्चिलो र २०७२ सालको संविधान भन्दा पनि बढी समावेशी र विकेन्द्रीकरणको अवधारणामा छ’ । संघीयतालाई चुस्त शासकीय स्वरूपमा परिकल्पना गर्दै घोषणापत्र तयार गरिएको महामन्त्री ढकालले बताए ।

घोषणापत्रको मुख्य बुँदाहरूमा संसदीय अभ्यासमा सुधार, निर्वाचन प्रक्रियामा सुधार लगायतका विषय छन् । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, हवाई सुरक्षा, सडक पुर्वाधार, भूमिसुधार लगायतका विषय पनि समेटिएको उनले स्पष्ट पारे ।
घोषणापत्रमा नेपाललाई अन्तराष्ट्रिय फिल्म सुटिङको हब बनाउने योजना समावेश गरिएको छ । साथै डिजिटल घुमन्ते पर्यटक भित्र्याउने योजना रहेको बुझिएको छ । बैंकिङ, बीमा र सहकारीको विकास, विदेश नीति, राष्ट्रिय सुरक्षा दस्ताको अवधारणा समेटिएको छ ।

नेपालको उत्पादनलाई स्थापित गर्न ‘मेड इन नेपाल’ अवधारणा अगाडि सारिएको छ । सेना, प्रहरी लगायत सरकारी कर्मचारीले नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने नीति छ । रोजगार बैंक, मानसिक स्वास्थ्य, आधार कार्ड, (आवर पे सिस्टम) लगायतका विषय पनि समावेश गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस