सडक निर्माणमा स्थानीय र प्रहरीबीच झडप, नौजना पक्राउ

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७५ पौष १३, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष १३, मुसीकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–७ मेलेनाउलीमा सडक निर्माणमा स्थानीयले गरेको अवरोध हटाउन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको छ ।

आक्रमण गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सडक निर्माणमा अवरोध गरेका कारण उनीहरुलाई प्रक्राउ गरेको प्रहरीले बताएको छ । अवरोध हटाउन खोज्दा गालीगलौज गर्दै प्रहरीमाथि नै आक्रमण भएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

चौरजहारी नगरपालिका–४ का २८ वर्षीय निरक भण्डारी, ३० वर्षीय प्रकास भण्डारी, ३३ वर्षीय चन्द्रबहादुर खड्का, वडा नम्बर ८ का २८ वर्षीय सविन बुढाथोकी र ३२ वर्षीय बालाराम जैसी, चौरजहारी नगरपालिका–७ का ६० वर्षीय बीरबहादुर कुमाल, ३८ वर्षीय शंकर जैसी, ३२ वर्षीय खेमराज जैसी र वडा नम्बर १ का २३ वर्षीय नरेश लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

आक्रमणका कारण प्रहरी हवल्दार निर्मला विक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएका छन् । रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार विकको ढाडमा र बस्नेतको ढाड र घुँडामा चोट लागेको छ । घाइते दुवैजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माणको क्रममा मेलैनाउलीमा स्थानीयले अवरोध गरेका हुन् । पक्राउ पर्ने स्थानीयहरुमाथि शुक्रबार नै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको डिएसपी खड्काले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस