पौष १५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्धमा ठूलो प्रगति भएको बताएका छन् ।
वर्षभरि ‘जस्तालाई त्यस्तै’ जसरी एकअर्कामाथि व्यापार कर लगाउँदै आएका अमेरिका र चीनको सम्बन्ध तनावमा छ । यी दुई देशबिच ‘व्यापार युद्ध’ को अवस्था रहेका बेला वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपतिले सम्बन्ध सुधारको संकेत दिएका हुन् ।
यो वर्षको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशको व्यापारमा रहेको असन्तुलन कम गर्नका लागि चीनले आवश्यक प्रयास नगरेको आरोप लगाएपछि अमेरिका–चीनबिच व्यापार युद्धको अवस्था आएको हो ।
Just had a long and very good call with President Xi of China. Deal is moving along very well. If made, it will be very comprehensive, covering all subjects, areas and points of dispute. Big progress being made!
— Donald J. Trump (@realDonaldTrump) December 29, 2018
तर डिसेम्बरको सुरुमा दुवै देश नयाँ व्यापार कम नलगाउनेमा सहमत भएका हुन् । यसले वार्ताको वातावरण बनायो । ट्रम्पले शनिबार आफू र चिनियाँ राष्ट्रपति सी जिन–पिङ्गबिच टेलिफोनवार्ता भएको बताएका छन् ।
टेलिफोनवार्ता निकै राम्रो रहेको र सम्बन्ध सुधारको पक्षमा काम हुने संकेत ट्रम्पले दिएका हुन् । तर ट्रम्पले वास्तवमा के कुरामा कसरी प्रगति भएको छ भन्नेबारे केही बताएनन् ।
चीनको सरकारी समाचार संस्था सिनह्वाले ट्रम्प र सीबिच टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । तर उसले पनि वार्ताबारे केही जानकारी दिएको छैन ।
अमेरिकाले सहकार्यका लागि गरेको प्रयासको चिनियाँ राष्ट्रपति सीले प्रशंसा गरेको चीनको सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ । अमेरिकाले व्यवहारिक सम्बन्धका लागि प्रयास गर्नु राम्रो रहेको सीको भनाई छ ।
चीनको व्यापार रणनीतिका कारण अमेरिकी उत्पादनलाई कम प्रतिस्पर्धी बनाएको आरोप लगाउँदै अमेरिकामा चिनियाँ सामानमाथिको व्यापार कर ट्रम्पले बढाए ।
त्यसको जवाफमा चीनले पनि अमेरिकी सामानमाथिको कर बढायो । वर्षभरि यो क्रम चलिरहेको थियो । यसले गर्दा तनावमा पुगेको अमेरिका–चीन सम्बन्ध ट्रम्प–सी टेलिफोन वार्ताले सुधारको आशमा लगेको छ ।