काठमाडौँ- ६ : मतदान अधिकृत र सहायकलाई प्रशिक्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक २८, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २८, काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । काठमाडौँ क्षेत्र नं ६ निर्वाचन अधिकृतको कार्यालयले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न निर्वाचनमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का ३२ मतदान केन्द्रका ७५ मतदानस्थलमा खटिने अधिकृतलाई मत खसाल्नेदेखि हुलदङ्गा भएमा के गर्ने भन्नेसम्मको प्रशिक्षण दिइएको सोही क्षेत्रका निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिएका छन् ।

प्रशिक्षणमा प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मतदान गर्ने तरिका, मतपत्र लिने, स्वस्तिक छाप लगाउने, पट्याउने, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिकालगायतका विषयमा सिकाइएको थियो ।

मतदाताले गोप्य मतदान गर्न पाउने अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराएको निर्वाचन अधिकृत खनालले बताएका छन् । काठमाडौँ क्षेत्र नं ६ मा निर्वाचनका लागि ६०० कर्मचारी खटिनेछन् । सबै मतपत्र र मतदानका लागि आवश्यक पर्ने सामान निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको निर्वाचन अधिकृत खनालको भनाइ छ ।

प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण दिएसँगै अब सबै कर्मचारी आगामी मङ्सिर १ गते बेलुकासम्म सबै कर्मचारी आआफ्नो मतदान केन्द्र र स्थलमा खट्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचनको दिनमा प्रयोग गर्ने सवारी पास वितरण गर्ने कामसमेत गर्दै आएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै शिवपुरीसम्म निर्वाचन क्षेत्र रहेको काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा ६२ हजार एक सय दुई मतदाता रहेका छन् । उक्त निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९ र १० तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्दछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस