एमालेको ज्यादतीलाई मलेठवासीले सम्झदै भने–ओलीसंग मिल्ने उपेन्द्रलाई भोट हालिन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ कार्तिक ३०, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ३०,सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव यसपटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टाँसिएका छन् । तर सप्तरीबासी भने छ वर्षअघि सप्तरीको मलेठमा भएको घटनालाई झल्झली सस्मरण गरिरहेका छन् । यसबाट सप्तरी २ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका यादवलाई अप्ठेरो पर्ने निश्चित छ ।

२०७३ फागुन २३ गते सप्तरीको मलेठमा एमाले र तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताबीच सोझो भिडन्त भएको थियो । जसबाट ५ जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने ११ जना गम्भीर घाइते भएका थिए ।

त्यो बेला प्रहरीले नरोकेको भए सयौं मानिस हताहती हुने थिए । त्यस घटनाको ४ दिनसम्म सप्तरीको राजविराज र रुपनीमा कर्फ्यू लगाइएको थियो ।

मलेठ घटना भएको ६ वर्ष नबित्दै जसपा अध्यक्ष यादवले एमालेसँग चुनावी सहकार्य गरेका छन् । तर जसपाका तल्लो तहका कार्यकर्ताहरु भने त्यस घटनालाई अहिले पनि सम्झिरहेका छन् ।

‘हामीले मलेठ घटनालाई कसरी बिर्सन सक्छौं ? त्यो बेला एमाले हामीलाई सिध्याउन आएको थियो । हामीले त्यसको प्रतिकार गर्यौं’, सप्तरीका महेश यादवले भने, ‘त्यो घटनालाई सम्झदा हाम्रो अध्यक्ष ज्यू (उपेन्द्र यादव) ले हामीलाई धोका दिएको जस्तो लाग्छ । किनभने अध्यक्षज्यूले हाम्रो भावना नबुझेर एमालेसँग सहकार्य गर्नु भएको छ ।’ एमालेको ज्यादतीलाई मलेठवासीले सम्झदै भन्ने गरेका छन्– ‘ओलीसंग मिल्ने उपेन्द्रलाई भोट हालिन्न’

महेशका अनुसार सप्तरी घटना मधेसी जनतामाथि एमाले अध्यक्ष ओलीको ज्यादतीको पराकाष्ठा थियो । अहिले तिनै ओलीसँग उपेन्द्र टाँसिएपछि पीडित जसपाका कार्यकर्ताहरु उपेन्द्रसँग चिँढिएका छन् ।

सोही कारण उनले चुनाव जित्ने सम्भावना कमजोर भएको बुझ्न सकिन्छ । त्यतिमात्र हैन एमालेका कार्यकर्ताले पनि जसपालाई दिल खोलेर भोट नहाल्ने बुझिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस