कार्तिक ३०, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेले आफ्नो नागरिकतासम्बन्धी विवाद ४ वर्ष अगाडी नै समाधान भइसकेको स्पष्ट गरेका छन् ।
उनले आफ्नो नागरिकतासम्बन्धी विवाद निकालेर निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले अनेकन फण्डा भइरहेको दाबी गरे। आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डा मात्रै भएको उनको दाबी छ।
मंगलबार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो थियो।
उक्त विषयमा सामाजिक संजालमा बोल्दै लामिछानेले आफूविरुद्ध परेको उजुरीका बारे निर्वाचन आयोगलाई जवाफ पठाउने बताए।
‘मैले जवाफ त दिनु नै पर्छ। तर, जुन विषय उठाइएको छ आजभन्दा ४ भन्दा अगाडि सल्टिएको विषय हो। सबै जानकारी गराइसकेको विषय हो। उजुरी पर्नु ठूलो कुरा होइन, उजुरी परिसकेपछि जवाफ दिनुपर्छ’, उनले भने।
नागरीकताको विषयसमेतमा विवेचना भई सेटल भइसकेको कुरालाई आफूले कति पटक स्पष्टीकरण दिनु पर्ने हो ? भन्दै प्रश्न पनि गरेका छन्।
‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?’ उनले लेखेका छन् ।