भक्तपुरमा एमालेको ऐतिहासिक जीत हुन्छ, कम्तिमा ६० हजार मत ल्याउँछौंः नेता बस्नेत

मंसिर १, काठमाण्डौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भक्तपुरबाट एमालेलाई कम्तिमा पनि ६० हजार मत ल्याई ऐतिहासिक जित निकाल्ने दावी गर्नुभएको छ ।

निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै जनताले मंसिर ४ गते सूर्यमा भोट दिने र ६ गते रुखमा भोट दिने बताउनुभयो । प्रधानमन्त्री देउवाले केही समय अधि एक कार्यक्रममा मंसिर ४ मा हुने निर्वाचनलाई मंसिर ६ गते हुने भनि अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीलाई निर्वाचनको मिति समेत जानकारी नहुने सुस्त दिमागको भएको उल्लेख गर्दै उहाँले मुलुक निर्माणको लागि एमालेका अध्यक्ष केपी ओली जस्तो दुरदृष्टि भएको नेतालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले लुम्बिनीमा आयोजित एक कार्यक्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि भएको एक कार्यक्रममा स्टेजमा नै र्याल चुहाउने भएको थियो । सोही प्रशंगलाई कोट्याउँदै उहाँले प्रधामन्त्री देउवाले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा र्याल चुहाउने, निदाउने, सिंगान झार्नेलगायतका कार्यहरु गरी देशको नै बेइजत गरेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवा साथीहरुले भन्न थाल्नुभएको छ, ठिकै हो, ४ गते सूर्यमा भोट दिने हो । मुलुकको विकास र समृद्धिको नायक, दुरदृष्टि भएको केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो । ६ गते कांग्रेसको रुपमा भोट हाल्ने हो, निर्वाचन सकेपछि मतपेटिका गनेर खोली भएको मतपेटिकामा हाल्ने हो । र्याले र सिगाँन चुहाउने नेतालाई विदाई गर्ने हो ।’

नागरिकता विधेयक, एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती कार्य गर्ने गठबन्धन सरकार देश र जनताको पक्षमा नरहेको उल्लेख गर्दै उहाँले हिजो एमालेलाई प्रतिगमन भन्नेहरु राष्ट्रघाती रहेको तथ्य एक पछि अर्को गर्दै जनताले बुझ्दै गएको बताउनुभयो । मुलुकको हित छान्ने की मुलुकको वर्वादी छान्ने भन्ने कुरा आगामी निर्वाचन रहेको उल्लेख गर्दै उहाँले गठबन्धनले देशलाई दिनानुदिन अधोगतिमा लान खोजेता पनि एमालेले सशक्त प्रतिवाद गरी दुर्घटनाबाट बचाइरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा जनताले मुलुकको हित चाहने हो भने एमाले छान्नुपर्नेछ । मुलुकको वर्वादी छान्ने हो भने गठबन्धनलाई गठबन्धनलाई भोट हाल्नुपर्नेछ । त्यस्तै आम नेपाली जनताले मुलुक वर्वादी गर्ने गठबन्धनलाई हैन, एमालेलाई भोट हाल्नु अपरिहार्य बनेको छ ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको गुमेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा समेट्न गठबन्धनका दलहरुलाई घिसारेर, लतारेर संविधान संशोधनको लागि ल्याउनुभएको स्मरण गर्दै नेता बस्नेतले नाकाबन्दी लाग्दा नाकाबन्दी हो भन्न समेत नसक्ने गठबन्धनका दलहरुलाई निर्वाचनको माध्यमबाट विदा गर्नुपर्नेमा जोड दिनुभयो ।

केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिको साथमा परराष्ट्र नीति तथा चाइनासँग पारवहन सन्धी गरी नेपाललाई ल्याण्डलक कन्ट्रीबाट ल्याण्ड लिङ्क कन्ट्री बनाएको स्मरण गर्दै नेता बस्नेतले मुलुकको समृद्धिका असंख्य योजनाहरु शुरु गर्नुभएको उदाहरणसहित प्रष्ट पार्नुभयो । पाइपलाईनबाट पेट्रोलियम पदार्थ ल्याउने, रेलमार्ग, शुरुङ मार्ग, पानी जहाज, ठूला ठूला एयरपोर्टहरु निर्माण, पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिण जोड्ने दर्जनौं राजमार्गलगायतका मुलुकलाई दिर्घकालसम्म ऐतिहासिक फाईदा पुग्ने कार्यहरु केपी ओली नेतृत्वको सरकार गरेको उल्लेख गर्दै उहाँले गठबन्धनका दलहरु दलाल नोकरसाही रहेकाले मुलुकको हितमा कुनै पनि कार्य गर्न नसक्ने पुष्टि भएको बताउनुभयो ।
स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, मनोहरा करिडोर, हनुमन्ते करिडोर, मानव अंग प्रत्योरोपण, क्यान्सर सेन्टर बनाउनेलगायतका भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेका आयोजनाहरुलाई अलपत्र पारी गठबन्धन सरकारले जनताको विकास प्रतिको चाहनामा तुसारापात गरेको भन्दै उहाँले आक्रोस जनाउनुभयो । एमालेको नेतृत्वकालमा विकासमय भएको सम्झदै जनताहरु पछुताइरहेको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वमा दशैं तिहार आएको जस्तै खुसी र उत्साह आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको तीन वटै सरकार भएको समयमा विकास र समृद्धिको यात्रामा जनताले देख्ने र प्रत्यक्ष भोग्ने गरी विकास नै विकास हुने गरेको थियो । विकासमा दसैं तिहार आएजस्तै उत्साह थियो जनतामा तर अहिले गठबन्धन सरकार आएपछि जुठो परेको दसैं तिहार जस्तो भएको छ । सवै विकासका आयोजनाहरु रोकिएका छन् । एमाले सरकारले थालेका केही बाहेक एउटा पनि विकासका कामहरु भएका छैनन् ।’
जनताले आगामी मंसिर ४ गते सूर्यमा भोट हालेपछि फेरी एमालेको सरकार आउने र विकासको लहर व्यापक मात्रामा ल्याउने उल्लेख गर्दै उहाँले जनताले भोट नदिएर गठबन्धनलाई सवक सिकाउने पर्नेमा जोड दिनुभयो । नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित पूर्वसांसद प्रेम सुवाललाई लक्षित गर्दै उहाँले भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित जनप्रतिनिधिले सदनमा नियमापत्ती बाहेक केही पनि गर्न नजाने उल्लेख गर्नुभयो । क्षेत्र नं. २ मा कांग्रेसले तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुँदा एक पटक समेत भक्तपुरको आवाज राख्न नसकेको उल्लेख गर्दै उहाँले एमालेले नेतृत्व गरेसँगै भक्तपुरको आवाज सदनमा गुञ्जनेमात्र नभई कार्यान्वयन भएको उदाहरणसहित प्रस्तुत गर्नुभयो ।
जनताको ब्राण्डेड पार्टी एमाले भएकाले जनताले पनि आगामी निर्वाचनमा एमालेका ब्राण्डेड उम्मेदवारलाई जिताउनेमा विश्वास गर्दै उहाँले लोकल पार्टी छानेर पुनः गल्ती नगर्न भक्तपुर क्षेत्र नं. १ का जनतालाई आग्रह गर्नुभयो । चाँगुनारायण नगरपालिकामा यो पटक हार्ने छुट नभएको उल्लेख गर्दै नेता बस्नेतले क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार नवराज गेलाल, प्रदेश सभाका उम्मेदवार मोहनविर श्रेष्ठ तथा नारायण सिन्ताकलालाई विजयी गराउनेपर्ने बताउनुभयो ।
स्थानीय तहमा गठबन्धनले जितेको ठाउँका जनता ६ महिनामा नै पछुताइरहेको उल्लेख गर्नुभयो । सेटिङ गर्ने, भ्रष्टाचार गर्ने, अनियमितता गर्ने, सार्वजनिक सम्पत्तीलाई नीजिकरण गरी कमिशन खाने व्यक्तिहरु एमालेको विरुद्धमा उम्मेदवार बनेर आएको उल्लेख गर्दै उहाँले गठबन्धनका उम्मेदवार र एमालेको उम्मेदवारलाई वास्तविकता बुझि भोट हाल्न भक्तपुरका आम जनतालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोम मिश्र, क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार नवराज गेलाल, प्रतिनिधिसभा समानुपाति उम्मेदवार गोविन्द दुलाल, जिल्ला अध्यक्ष बचन देउजा, सचिव तथा चाँगुनारायण प्रदेशसभाका उम्मेदवार मोहनवीर श्रेष्ठ, प्रदेशसभाका समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, केन्द्रीय अनुसाशन आयोग सदस्य विना बाँस्तोला लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply